गन्तव्य मध्यपुर: संस्कृति, परम्परा र उत्पादन जोड्दै मध्यपुर थिमिको ब्रान्डिङ

मध्यपुर थिमि, २३ चैत्र २०८२ः

मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ‘गन्तव्य मध्यपुर’ अभियान सुरु गरिने जानकारी दिनुभएको छ। बिस्काः जात्राको अवसर पारेर चैत २८ र २९ गते विविध कार्यक्रमसहित अभियानको औपचारिक शुभारम्भ गरिने उहाँले बताउनुभयो।

नगरपालिकाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख श्रेष्ठले मध्यपुर थिमिलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले अभियान अघि बढाइएको जानकारी दिनुभयो। कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठ लगायत जनप्रतिनिधि, कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो।

प्रमुख श्रेष्ठका अनुसार मध्यपुर थिमि ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण नगर हो, जहाँ मनाइने बिस्काः जात्रा लगायतका मौलिक जात्रा–पर्वहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएका छन्।

नगरपालिकाले पछिल्ला वर्षहरूमा विभिन्न सांस्कृतिक कार्यक्रम, महोत्सव तथा पदयात्रामार्फत पर्यटन प्रवर्द्धन गर्दै आएको उल्लेख गर्दै प्रमुख श्रेष्ठले ‘गन्तव्य मध्यपुर’ अभियानमार्फत स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना तथा आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

अभियानअन्तर्गत चैत २८ गते शंखधर चोकमा स्थानीय उत्पादन तथा हस्तकला प्रवर्द्धन केन्द्र उद्घाटन, निगु पुखुमा खुल्ला धिमे बाजा प्रतियोगिता तथा स्थानीय रैथाने उत्पादन मेला आयोजना गरिनेछ। त्यस्तै, चैत २९ गते सोही स्थानमा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार उक्त अभियानले मध्यपुर थिमिमा पर्यटक आगमन वृद्धि गर्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!