नेपाल भेटेरिनरी एसोसियसनको १६औँ राष्ट्रिय सम्मेलनः भेटेरिनरी चिकित्सकको सम्मान बढाउन मुख्यमन्त्रीको आग्रह

बुटवल, २७ चैत २०८२ः

‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ नारासहित रुपन्देहीमा १६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन सुरु भएको छ।

नेपाल भेटेरिनरी एसोसियसन (एनभीए)को आयोजनामा भएको १६औँ राष्ट्रिय सम्मेलन सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गरेका हुन्।

सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले कृषि र पशुपालन नेपालको दिगो विकास र आत्मनिर्भरताको मेरुदण्ड भएको उल्लेख गरे। उनले राज्यले किसान र भेटेरिनरी चिकित्सकको भूमिकालाई पर्याप्त महत्व दिन नसकेको स्वीकार गर्दै दृष्टिकोणमा परिवर्तनको खाँचो औंल्या्नु भयो । “मानिसको उपचार गर्ने डाक्टरलाई मात्र सम्मान गर्ने तर पशुधनको उपचार गर्ने चिकित्सक र किसानलाई बेवास्ता गर्ने प्रवृत्ति गलत हो,” उनले भने, “पशु स्वस्थ भए मात्रै उत्पादन र आम्दानी दुवै बढ्छ, त्यसैले पशु चिकित्सकप्रति अझ बढी सम्मान हुनुपर्छ।”

मुख्यमन्त्री आचार्यले पशुपंक्षी चिकित्सक तथा भेटेरिनरी जनशक्ति प्रति राज्यको व्यवहारमा सुधार आवश्यक रहेको बताउँदै विभेदकारी कानुन भए संशोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे। साथै, परम्परागत पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गर्न भेटेरिनरी जनशक्तिको भूमिका निर्णायक हुने उनले बताए।

नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीले भेटेरिनरी चिकित्सकलाई मेडिकल डाक्टर सरहको दर्जा र सेवा–सुविधा दिन माग गरे। उनले भेटेरिनरी क्षेत्रमा भइरहेको असमानता अन्त्य गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। डा सुबे्दीले नीति निर्माणमा एसोसिएसनका विज्ञहरूको सहभागिता सुनिश्चित गर्न, औषधि ऐन र पशु चिकित्सा परिषद् ऐन संशोधन गर्दा विज्ञको राय अनिवार्य लिन पनि माग गरे।

सम्मेलनमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनकी उपकुलपति प्रा. डा. शारदा थपलिया, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामानन्दन तिवारी तथा हेफर इन्टरनेसनलका कन्ट्री डाइरेक्टर डा. तीर्थ रेग्मी लगायत वक्ताहरूले पशुपालन क्षेत्र आर्थिक समृद्धिको आधार हुँदाहुँदै पनि तीनै तहका सरकारको नीति, कार्यक्रम र बजेटमा अपेक्षित प्राथमिकता नपाएको बताए। उनीहरूले अनुसन्धान, नवप्रवर्तन र जनशक्तिमा लगानी बढाउन सुझाव दिए।

सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुनेछन् भने विभिन्न विषयमा समूहगत छलफल पनि हुनेछ। सम्मेलनले पशु स्वास्थ्य, अनुसन्धान र नवीन प्रविधिको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!