कीर्तिपुर, २७ चैत्र २०८२ः\
नेपाल आर्मीले राष्ट्रिय खो–खो प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहमा विजयी सुरुवात गरेको छ।
कीर्तिपुरस्थित कभर्ड हलमा जारी आठौँ पुरुष तथा सातौँ महिला प्रतियोगिताको उद्घाटन खेलमा आर्मीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली जित निकालेका हुन्। पुरुषतर्फ ७ अंक बनाएको बागमती प्रदेशलाई आर्मीले २८ अंकको फराकिलो अन्तरले पराजित गर्यो।
महिलातर्फ आर्मीले शून्य अंकमा सीमित कोशी प्रदेशलाई ४२ अंकको ठूलो अन्तरले हराउँदै आफ्नो वर्चस्व देखायो। अर्को प्रतिस्पर्धात्मक खेलमा १९ अंक बनाएको कर्णाली प्रदेशलाई कोशी प्रदेशले २१–१९ को झिनो अन्तरले पराजित गरेको छ। त्यस्तै, महिला समूहकै अर्को खेलमा २ अंकमा सीमित बागमती प्रदेशलाई लुम्बिनी प्रदेशले १० अंकले हराएको हो।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ सात टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद का सदस्य सचिव रामचरित्र मेहता ले गर्नुभएको हो। उद्घाटनका क्रममा उहाँले पछिल्लो समय खो–खो खेलले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान र गौरव बढाएको उल्लेख गर्नुभयो।
प्रतियोगितामा प्रथम हुने टोलीले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट ‘चेसर’ र ‘रनर’लाई जनही १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने शंकर महर्जनले जानकारी दिनुभयो।