भारतीय सङ्गीतकी चिरपरिचित स्वर–सम्राज्ञी आशा भोसलेको निधन

काठमाडौँ, २९ चैत्र २०८२ः

भारतीय सङ्गीत जगतकी प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । हृदयाघातपछि शनिबार अस्पताल भर्ना गरिएकी उहाँको उपचारका क्रममा आइतबार निधन भएको हो ।

ब्रिच क्यान्डी अस्पताल, मुम्बईमा उपचाररत भोसलेको स्वास्थ्यमा सुधार नआएपछि निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँको अन्तिम संस्कार सोमबार अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्क मा पूर्ण राजकीय सम्मानका साथ गरिने जनाइएको छ ।

सन् १९३३ सेप्टेम्बर ८ मा साङ्गलीमा जन्मिनुभएकी भोसले प्रख्यात सङ्गीतकार दीनानाथ मङ्गेशकर की तेस्रो सन्तान हुनुहुन्थ्यो । करिब १० वर्षको उमेरदेखि गायन यात्रा सुरु गर्नुभएकी उहाँले सात दशक लामो करिअरमा ११ हजारभन्दा बढी गीतमा स्वर दिनुभएको छ । सन् २०११ मा गिनिज वर्ल्ड रेकर्ड्स ले उहाँलाई विश्वकै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारका रूपमा मान्यता दिएको थियो ।

उहाँले ‘नयाँ दौर’, ‘तीसरी मञ्जिल’, ‘उमराव जान’, ‘इजाजत’ र ‘रङ्गीला’ जस्ता चर्चित चलचित्रका गीतमार्फत अपार लोकप्रियता हासिल गर्नुभएको थियो । दुई पटक राष्ट्रिय पुरस्कार विजेता भोसलेले सन् २००१ मा दादासाहेब फाल्के पुरस्कार प्राप्त गर्नुभएको थियो भने पद्म विभूषण जस्तो उच्च सम्मानबाट पनि विभूषित हुनुभएको थियो ।

उहाँ सन् १९९७ मा ग्रामी अवार्डका लागि मनोनयन हुने पहिलो भारतीय गायिका समेत बन्नुभएको थियो ।

भोसलेको निधनसँगै भारतीय सङ्गीत जगतमा एउटा स्वर्णिम युगको अन्त्य भएको छ । पार्श्व गायनको क्षेत्रमा उहाँले दिएका कालजयी गीत र स्वरको चञ्चलता संगीतप्रेमीको मनमा सदैव जीवित रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!