नेपालमा भेटेरिनरी क्षेत्रकै ऐतिहासिक तथा प्रतिष्ठित सम्मेलन VetCon 2026 लुम्बिनी प्रदेशमा पहिलो पटक भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ। “One Health Pathways for Sustainable Livestock and Food Security” भन्ने मूल थिमका साथ नेपाल भेटेरिनरी एशोसिएसन (NVA) को आयोजनामा तथा NVA लुम्बिनी प्रदेशको स्थानीय संयोजनमा सम्पन्न उक्त सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, अनुसन्धानकर्ता, नीति निर्माता तथा सरोकारवालाहरूलाई एउटै मञ्चमा एकीकृत गर्दै “One Health” अवधारणालाई व्यवहारिक रूपमा स्थापित गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।
२०८२ साल चैत्र २७ गते ड्रिमल्याण्ड रिसोर्टमा सम्पन्न उद्घाटन समारोहका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य रहनुभएको थियो। कार्यक्रमको अध्यक्षता NVA का अध्यक्ष डा. केदार सुवेदीले गर्नुभएको थियो भने सञ्चालन महासचिव डा. शंकर न्यौपानेले गर्नुभएको थियो। विशिष्ट अतिथिका रूपमा कृषि तथा वन विज्ञान विश्वविद्यालय का उपकुलपति डा. शारदा थपलिया, पूर्व अध्यक्ष डा. रामकृष्ण खतिवडा, डा. शीतल काजी श्रेष्ठ, कृषि तथा पशुपन्छी विकास मन्त्रालय का सहसचिव डा. रामनन्दन तिवारी, पशु सेवा विभाग का महानिर्देशक डा. उमेश दाहाल लगायत उच्च पदस्थ अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उद्घाटन समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री चेतनारायण आचार्यले पशुपन्छी क्षेत्रको राष्ट्रिय अर्थतन्त्र, सार्वजनिक स्वास्थ्य तथा खाद्य सुरक्षामा रहेको योगदानलाई उजागर गर्दै पशु चिकित्सकहरूको पेशागत सम्मान र नीति–स्तरमा सुदृढीकरण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। मुख्यमन्त्री आचार्यले कृषि र पशुपालनलाई नेपालको दीगो विकास र आत्मनिर्भरताको आधार मान्दै पशु चिकित्सकप्रति राज्यको दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो।
सम्मेलनका प्राविधिक तथा वैज्ञानिक सत्रहरूमा पशु सेवा विभागका उपमहानिर्देशक डा. प्रेरणा सेढाई भट्टराईले नीतिगत सुधारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो। FAO नेपालका डा. सुरेन्द्र कार्की तथा Heifer International Nepal ले आफ्ना कार्यक्रम तथा उपलब्धिहरू प्रस्तुत गरेका थिए। अष्ट्रेलिया, जापान, अमेरिका, भारत, बेलायत र हङकङबाट आएका विज्ञहरूले समेत अनुसन्धान र अनुभव प्रस्तुत गरेका थिए। सम्मेलनमा १०० भन्दा बढी वैज्ञानिक कार्यपत्र, २३ विद्यार्थी पोस्टर प्रस्तुति तथा करिब ५०० जना सहभागीहरूको उपस्थिति रहेको थियो।
सम्मेलनको प्रमुख आकर्षणका रूपमा Avian Influenza (Bird Flu) सम्बन्धी विशेष प्यानल छलफल आयोजना गरिएको थियो। डा. हिमाल लुइँटेलको संयोजनमा सम्पन्न उक्त छलफलमा पशु सेवा विभाग का महानिर्देशक डा. उमेश दाहाल, जापानका वैज्ञानिक Dr. Manabu Onuma लगायत विज्ञहरूको सहभागिता रहेको थियो।
सम्मेलनमा २५ वर्ष सेवा गरेका २६ जना भेटेरिनरियनलाई NVA Service Award, Heifer International Nepal लाई NVA National Award, तथा प्रा. डा. भूमिनन्द देवकोटालाई Lifetime Achievement Award प्रदान गरिएको थियो। साथै उत्कृष्ट विद्यार्थी र पोस्टर प्रस्तुतकर्ताहरूलाई पनि सम्मान गरिएको थियो। समापन समारोह लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
सम्मेलनमार्फत “लुम्बिनी घोषणापत्र” जारी गर्दै एकीकृत कानुनी संरचना निर्माण, राष्ट्रिय भेटेरिनरी प्राधिकरण गठन, प्रत्येक पालिकामा भेटेरिनरी अस्पताल स्थापना, २४ सै घण्टा सेवा विस्तार तथा पशुजन्य उत्पादनको गुणस्तर परीक्षण अनिवार्य गर्ने जस्ता महत्वपूर्ण नीतिगत प्रस्तावहरू अघि सारिएको छ।
सम्मेलनका शीर्ष प्रायोजक FAO र USSEC रहेका थिए। साथै पशु सेवा विभाग, नेपाल पशु चिकित्सा परिषद लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूको सहकार्य रहेको थियो। IAAS, AFU, HICAST र NPI शैक्षिक साझेदारका रूपमा सहभागी भएका थिए।
VetCon 2026 ले नेपालको पशुपन्छी क्षेत्रको राष्ट्रिय महत्व उजागर गर्दै अनुसन्धान विस्तार, क्षमता विकास तथा बौद्धिक जनशक्तिको उपयोगमा ऐतिहासिक योगदान पुर्याएको छ। यस सम्मेलनले “One Health” अवधारणालाई थप सुदृढ बनाउँदै नेपालको भेटेरिनरी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने महत्वपूर्ण मञ्चका रूपमा आफूलाई स्थापित गरेको आयोजकले जनाएको छ।
