मध्यपुर थिमि बोदे, २ वैशाख २०८३ः
भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ बोडेमा ऐतिहासिक तथा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ बिहीबार उत्साहपूर्वक मनाइएको छ। नयाँ वर्षको अवसरमा मनाइने बिस्केट जात्रा अन्तर्गतको प्रमुख आकर्षणका रूपमा रहेको यस जात्रामा यस वर्ष स्थानीय २८ वर्षीय सुजन बाग श्रेष्ठ ले चौथोपटक जिब्रो छेडेर पुर्ख्यौली परम्परालाई निरन्तरता दिनुभएको हो।
चैत मसान्तदेखि सुरु हुने बिस्केट जात्राको अभिन्न अङ्ग मानिने यो जात्रा अवलोकन गर्न हजारौँ सर्वसाधारणको उपस्थिति रहेको थियो। जात्राका क्रममा श्रेष्ठले करिब १० इन्च लामो फलामको सुइरोले जिब्रो छेडेर नगर परिक्रमा गर्नुभएको थियो। जिब्रो छेड्नुअघि उहाँले स्थानीय देवीदेवताहरूको पूजा–अर्चना गर्नुभएको थियो।
जिब्रो छेडिसकेपछि उहाँले काँधमा झण्डै ४० किलो तौलको ‘महाद्वीप’ बोकेर बोडेका विभिन्न भागको परिक्रमा गर्नुभएको थियो। यस जात्राको आफ्नै विशिष्ट ऐतिहासिक तथा धार्मिक महत्त्व रहेको छ।
किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा दुःख दिने नीलवाराहीका गणलाई परास्त गरी जिब्रो छेडेर नगर परिक्रमा गरिएको सम्झनामा यो जात्रा सुरु भएको विश्वास गरिन्छ। जात्रा सम्पन्न भएपछि जिब्रोबाट सुइरो निकालेर प्वालमा महालक्ष्मी मन्दिर को माटो लगाइन्छ। यसरी माटो लगाउँदा घाउ छिटो निको हुने र रगत नबग्ने जनविश्वास रहिआएको छ।
परम्पराअनुसार बाग श्रेष्ठ परिवारले नै यो जात्रालाई निरन्तरता दिँदै आएका छन्। यसअघि सुजनका बुवा बुद्धकृष्ण बाग श्रेष्ठले नौ पटक र काकाले समेत यस जात्रामा सहभागी भई परम्परा जोगाउनुभएको थियो।