काठमाडौँ, २९ वैशाख २०८३ः
हुम्ला जिल्लाको उत्तरी क्षेत्रबाट सुदूरपश्चिमका पहाडी जिल्लामा पालनका लागि लगिएका भेडाबाख्रा यतिबेला पुनः हुम्ला फर्किन थालेका छन्। तराई तथा दक्षिणी पहाडी क्षेत्रमा गर्मी बढ्नु र माथिल्लो हुम्लामा घाँस पलाउन सुरु भएपछि किसानहरूले बथान फर्काउन थालेका हुन्।
सिमकोट गाउँपालिका–१ दोजामका पामादोर्जे लामाले कात्तिक अन्तिम साता २५० भेडाबाख्रा लिएर बझाङ, बाजुरा र अछाम पुगेको बताउँदै अहिले फिर्ता ल्याउनु पुरानै चलन भएको जानकारी दिनुभयो। उहाँका अनुसार पहिले सामान ढुवानी र आम्दानीका लागि भेडाबाख्रा दक्षिणतर्फ लगिने गरिए पनि अहिले पालन र संरक्षणका लागि मात्रै लैजाने गरिएको छ।
यस वर्ष दोजाम गाउँबाट मात्रै दुई हजारभन्दा बढी भेडाबाख्रा बाहिर लगिएका थिए। यस्तै सिमकोट–७ का जन्ने शाहीका अनुसार माथिल्लो क्षेत्रमा घाँस पलाउन थालेपछि भेडाबाख्रा फर्काउन सुरु गरिएको हो।
नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाबाट हरेक वर्ष १० हजारभन्दा बढी भेडाबाख्रा सुदूरपश्चिमतर्फ लगिने गरिन्छ। केही दिन गाउँमै राखिएपछि जेठ लागेसँगै पुनः उच्च हिमाली पाटनतर्फ लगिने किसानहरूले बताएका छन्।
Source: gorakhapatra