काठमाडौँ, २९ वैशाख २०८३ः
दुग्ध विकास संस्थानका कर्मचारीले निःशुल्क रूपमा दूध र घिउ उपभोग गर्दै आएको सुविधा अब बन्द हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थान लामो समयदेखि घाटामा रहेको र किसानले दूधको भुक्तानी नपाइरहेका बेला कर्मचारीले अनावश्यक सुविधा लिइरहेको पाइएपछि यस्तो निर्णय गरेको हो।
संस्थानका कर्मचारीहरूले नियमविपरीत दैनिक दूध र मासिक घिउ निःशुल्क घर लैजाने गरेका थिए। महाप्रबन्धक डा शरण पाण्डेका अनुसार यो सुविधा कटौती गर्दा संस्थानको वार्षिक करिब २ करोड ८५ लाख रुपैयाँ बचत हुनेछ।
मन्त्रालयले यस निर्णयबाट डीडीसीभित्रको फजुल खर्च नियन्त्रण हुनुका साथै किसानको हितमा काम गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।