रास्वपाको प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा, भरतपुरमा चहलपहल बढ्यो

काठमाडौं । आइतबारदेखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन भरतपुर मा सुरु हुँदैछ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेसँगै भरतपुरमा राजनीतिक चहलपहल उल्लेखनीय रूपमा बढेको छ।

९ गतेसम्म सञ्चालन हुने महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ता, प्रतिनिधि तथा शुभेच्छुकहरू चितवन पुग्न थालेका छन्। चितवनको गर्मीलाई ध्यानमा राख्दै सहभागीहरूलाई आवश्यक तयारी गर्न पार्टीले सर्कुलरसमेत जारी गरेको छ।

महाधिवेशनमा तीन हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने बताइएको छ। तयारीका लागि १८ वटा उपसमिति परिचालन गरिएका छन्।

महाधिवेशनलाई लक्षित गरी सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्याल का अनुसार प्रधानमन्त्री, मन्त्री, सांसद, उच्चपदस्थ व्यक्तित्व तथा विदेशी पाहुनाको सहभागिता रहने भएकाले चारवटै सुरक्षा निकायको समन्वयमा विशेष सुरक्षा योजना लागू गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवन ले सुरक्षाका लागि १,०८७ जना प्रहरी तथा ट्राफिक व्यवस्थापनका लागि १६५ जना ट्राफिक प्रहरी परिचालन गर्ने जनाएको छ।

यसैबीच, महाधिवेशनमा पहिलोपटक विद्युतीय मतदानको व्यवस्था गरिएको छ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसी का अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमार्फत उम्मेदवारको नाम र तस्वीरमा छोएर मतदान गर्न सक्नेछन्।

विदेशमा रहेका तथा उपस्थित हुन नसकेका १७० प्रतिनिधिमध्ये केहीले पार्टीको एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ। पहिलो चरणको मतदान सम्पन्न गर्न करिब ६ घण्टा लाग्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!