बुटवल, ईश्वर थापा।
नेपाल पशुपन्छी औषधि व्यवसायी सङ्घ लुम्बिनी प्रदेशको चौथो अधिवेशन तथा आठौँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट अग्रज ब्यबसायी हुमाकान्त काफ्ले अध्यक्षमा निर्वाचित भएका छन्।
शनिबार सम्पन्न अधिवेशनमा कार्यसमितिको उपाध्यक्षमा भुवन खत्री, आशा खनाल र सुरजनाथ योगी निर्वाचित भएका छन्।

यस्तै सचिवमा रामप्रसाद भट्टराई, सह–सचिवमा जानकी गैरे तथा कोषाध्यक्षमा सूर्य भट्टराई चयन भएका छन्। सदस्यहरूमा मधुसूदन पाण्डे, पदम सुवेदी, शिवलाल खत्री, रामचन्द्र भुषाल र श्रीकृष्ण चौधरी रहेका छन्।

सङ्घका केन्द्रीय अध्यक्ष रितेश रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख उमाकान्त चापागाईं, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक सरबन कुमार चौधरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. प्रवेश सिंह कुँवर लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। त्यसैगरी डा. पवेज आलम, डा. भक्त निउरे र डा. भरत काफ्ले सहित संघका केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेशभरिका व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रमुख अतिथि रितेश रिमालले पशुपन्छी औषधि व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउन सबै सरोकारवालाबीच समन्वय र एकता आवश्यक रहेकोमा जोड दिए। रिमालले नव–निर्वाचित नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक सुदृढीकरण तथा क्षेत्रको समग्र विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे।