रास्वपाले प्रतिसोधको राजनीति गर्दैनः सभापति लामिछाने

भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने स्पष्ट पार्नुभएको छ।

चितवनको भरतपुरमा आयोजित पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाले प्राप्त जनमतलाई आत्मसात गर्दै कसैप्रति पनि प्रतिशोध नराख्ने बताउनुभयो। उहाँले राजनीतिक दलहरूबीच देखिएका वैमनस्यता यहीँबाट अन्त्य गर्दै सहयोग, सहकार्य र समन्वयका साथ देश तथा जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो।

पार्टीभित्र गुट–उपगुटको अभ्यास हुन नदिने उल्लेख गर्दै लामिछानेले महाधिवेशनमार्फत एकताको स्पष्ट सन्देश दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। पुराना राजनीतिक दलहरूले भोगेका अनुभवबाट पाठ सिकेर गुटरहित ढंगले अघि बढ्न सके रास्वपालाई कुनै शक्तिले पराजित गर्न नसक्ने उहाँको भनाइ थियो।

“रास्वपा लड्यो भने आफ्नै घुँडामा अल्झेर लड्छ, रास्वपालाई लडाउने अरू कसैको तागत छैन,” उहाँले भन्नुभयो, “गुट र उपगुटले दिने फल विषालु हुन्छ। त्यस्तो फल फल्यो भने वृक्ष नै काट्नुपर्ने अवस्था आउँछ। हामी अहिले कस्तो बीउ रोप्ने भन्ने निर्णायक मोडमा छौँ।”

रास्वपा देशको साझा राजनीतिक मञ्चका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै उहाँले पछिल्लो समय गैरराजनीतिक क्षेत्रका व्यक्तिहरू पनि राजनीतिमा आकर्षित हुन थालेको बताउनुभयो।

सभापति लामिछानेले नेपाली कांग्रेस र नेकपा (एमाले) भित्र देखिएका समस्या समाधान गर्न सुझाव दिँदै ती समस्या समाधान नभए त्यसको असर मुलुकमै पर्ने चेतावनी दिनुभयो।

“हामीले इतिहासलाई जवाफ दिनुपर्नेछ। राष्ट्रिय राजनीति राम्रो हुन हाम्रो पार्टी मात्रै राम्रो भएर पुग्दैन, अरू दल पनि सुध्रिनुपर्छ,” उहाँले भन्नुभयो। “कांग्रेस र एमालेभित्र देखिएका अप्ठ्यारा समाधान भएनन् भने देशलाई नै समस्या पर्छ।”

अन्त्यमा, पूर्वसहमति अनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै लामिछानेले गठबन्धनको लक्ष्यअनुसार काम भइरहेको दाबी गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!