सुशासन र समृद्धिमा रास्वपा–नेकपा एउटै ठाउँमा छन् : वर्षमान पुन

काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सुशासन र समृद्धिको योजनामा नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एकै ठाउँमा रहेको बताउनुभएको छ।

चितवनमा आज आयोजित रास्वपाको महाधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता पुनले रास्वपा र नेकपीबीच पृष्ठभूमि तथा काम गर्ने शैली फरक भए पनि सुशासन, समाज रूपान्तरण र समृद्धिको एजेन्डामा धेरै समानता रहेको उल्लेख गर्नुभयो। उहाँले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको र ठूलो बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराउनुभयो।

रास्वपाले अघि सारेको थिति बसाल्ने एजेन्डामा आफ्नो पार्टीको साथ रहने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी सुशासनको पक्षमा छौँ। विगतमा पनि सहकार्य गरेका छौँ। अन्य दलहरूको तुलनामा रास्वपा र नेकपाबीच धेरै विषयमा सहकार्य भएको छ।”

नेता पुनले थिति बसाउने नाममा चालिने हरेक कदम विधिसम्मत र संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिनुभयो। नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धतिभन्दा बाहिर गएर अघि बढ्न नहुने उहाँको भनाइ थियो।

राजनीतिमा जनसमर्थन र सङ्ख्या प्राप्त गर्दा विनम्रता आवश्यक पर्ने उल्लेख गर्दै उहाँले नयाँ पुस्ताको सहभागिताले नेपाली राजनीतिमा सकारात्मक ऊर्जा र उत्साह थपेको धारणा राख्नुभयो।

रास्वपाको यो महाधिवेशनबाट कस्तो नेतृत्व, विचार र कार्यदिशा तय हुन्छ भन्ने विषयलाई मुलुकले चासोका साथ हेरिरहेको उल्लेख गर्दै नेता पुनले महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!