सरकार ‘एक्सप्रेस’ गाडी हो, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री बालेन्द्र शाह

भरतपुर,  चितवन।

प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले वर्तमान सरकार ‘एक्सप्रेस’ गाडी जस्तै भएकाले निर्धारित गन्तव्यमा पुगेपछि मात्रै रोकिने बताउनुभएको छ।

चितवनको भरतपुरमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारको गति र कार्यशैलीबारे उठाइएका टिप्पणीप्रति प्रतिक्रिया दिँदै भन्नुभयो, “हाम्रो सरकार ‘एक्सप्रेस वे’मा गुडिरहेको गाडी हो। यो गन्तव्यमा पुगेर मात्रै ब्रेक लाग्छ, अनियन्त्रित छैन।”

महाधिवेशनमा शुभकामना दिने क्रममा विभिन्न राजनीतिक दलका नेताहरूले दिएका सुझावलाई गम्भीर रूपमा लिएको जनाउँदै उहाँले वर्तमान जनमतलाई सम्मान गर्न आग्रह गर्नुभयो। रास्वपाको वैचारिक दृष्टिकोणप्रति अनावश्यक चिन्ता नगर्न आग्रह गर्दै उहाँले रास्वपा विकास र परिणाममुखी पार्टी भएको बताउनुभयो।

“रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन। पुराना विषयलाई लिएर निहुँ खोज्ने पार्टी पनि होइन,” उहाँले भन्नुभयो।

सरकारी सम्पत्ति र सार्वजनिक रकमको दुरुपयोग भएको अवस्थामा सरकार कठोर रूपमा प्रस्तुत हुने उहाँको भनाइ थियो। “सरकारले नियम–कानुन मिच्दैन, नियमकै दायराभित्र रहेर काम गर्छ, नियमभन्दा बाहिर जाँदैन,” उहाँले स्पष्ट पार्नुभयो।

कालापानी–लिम्पियाधुरामा नेपालको अडान

उहाँले कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै ती भूभाग नेपालकै भएको पर्याप्त प्रमाण सरकारसँग रहेको बताउनुभयो।

“हामीले ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ। तर ब्रिटिस शासनकालमा यससम्बन्धी कुनै प्रमाण छ भने सहयोग लिन खोजेका हौँ,” उहाँले भन्नुभयो। “हामी छिमेकीसँग प्रत्यक्ष संवादमार्फत सीमासम्बन्धी विषय समाधान गर्छौँ। हामीसँग आफ्नो भूभागको प्रमाण छ, त्यसमा आशंका लिनु पर्दैन।”

राष्ट्रियताको सवालमा आफ्नो दृष्टिकोणप्रति कसैले शंका गर्न नपर्ने उहाँको भनाइ थियो।

गुट–उपगुटलाई स्थान नदिने

वरिष्ठ नेता शाहले पार्टीभित्र गुट–उपगुट बनाउने पुराना राजनीतिक अभ्यासलाई रास्वपाले स्थान नदिने स्पष्ट पार्नुभयो।

“राम्रो नेता र राजनीतिज्ञ बन्न जनताको माया जित्नुपर्छ, कुनै समूहको होइन,” उहाँले भन्नुभयो। “समूह बनाउनेतर्फ नलाग्नुहोला। त्यो बीउ अहिले नै नरोपौँ, ताकि भोलि त्यही रुख बनेर पार्टीलाई विभाजित नगरोस्।”

रास्वपा नयाँ पार्टी भएकाले नयाँ सोच र कार्यशैलीका साथ अघि बढिरहेको उल्लेख गर्दै उहाँले यही कार्यकालमै सुकुमबासी र सहकारी ठगीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“आगामी चुनावमा हामी यही पुराना एजेन्डा बोकेर जाँदैनौँ। नयाँ उपलब्धि र नयाँ एजेन्डासहित जनतामाझ जान्छौँ,” उहाँले भन्नुभयो। अहिले रास्वपाको सरकार भएकाले मन्त्री, सांसद, पदाधिकारी, केन्द्रीय सदस्य, कार्यकर्ता र जनता सबैको भूमिका महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो।

“आज, भोलि र पर्सि पार्टीका बारेमा सोचौँ, त्यसपछि पाँच वर्ष देशका बारेमा सोचौँ,” उहाँले भन्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!