रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज बिहान ८ः३० बजेदेखि सुरु हुने भएको छ । बन्दसत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुँदैछ । प्रदर्शनी केन्द्रमा रहेका तीन ठूला हलमध्ये दुईवटा हल बन्दसत्रका लागि तयारी गरिएको छ भने अर्को एक हलमा खाजा तथा खानाको व्यवस्था गरिएको छ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । उक्त प्रतिवेदनमाथि छलफल गरिनेछ ।

बिहान ९ः०० बजे कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ भने त्यसपछि सो प्रतिवेदनमाथि छलफल हुनेछ ।

त्यसैगरी, बिहान १०ः०० बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ र त्यसमाथि छलफल हुनेछ । बिहान १०ः४५ बजे सहमहामन्त्रीद्वारा विधानमाथि छलफल गराई अनुमोदन गरिने कार्यक्रम रहेको छ ।

बिहान ११ः४५ बजे पार्टी सभापति रवि लामिछाने ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । उक्त प्रतिवेदनमाथि छलफलपछि अनुमोदन गरिनेछ ।

दिउँसो १२ः४५ बजे सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नुहुनेछ । त्यसपछि आयोजक समितिले सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्ने तालिका रहेको छ ।

दिउँसो १ः०० बजे खानापछि निर्वाचन आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी तथा तालिका सार्वजनिक गर्नेछ । रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार आज र भोलि दुवै दिनको खानाको व्यवस्था सोही स्थानमा गरिएको छ ।

बन्दसत्रमा रास्वपाका ४ हजार २११ प्रतिनिधि, पर्यवेक्षक तथा स्वयंसेवक सहभागी हुनेछन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आज दिउँसो १ः०० बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिनेछ । दिउँसो २ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिनेछ भने साँझ ६ः०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

यसैगरी, बेलुका ६ः०० बजेदेखि ७ः०० बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध दर्ता गर्न सकिनेछ । ७ः०० बजेदेखि ९ः०० बजेसम्म दाबी–विरोध परेका उम्मेदवारबारे जाँचबुझ गरिनेछ । उहाँका अनुसार बेलुकी ९ः१५ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । उम्मेदवारको अन्तिम नामावली राति ११ः०० बजे प्रकाशन गरिनेछ ।

असार ९ गते मंगलबार बिहान ८ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म पहिलो चरणको मतदान हुनेछ । यस चरणमा एक जना सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिनेछ ।

मतदान सम्पन्न भएपछि पहिलो चरणको मतगणना सुरु गरिनेछ र करिब दुई घण्टापछि मतपरिणाम घोषणा गरिनेछ । त्यसपछि दोस्रो चरणको मतदान प्रक्रिया अघि बढाइनेछ । महाधिवेशनको उद्घाटन सत्र शनिबार गेष्टहाउस चौरमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!