भरतपुर, चैत्र २३,२०७९ः
भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका सात जोडीलाई सम्मान गरेको छ । आज एक कार्यक्रमका बीच उनिहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार रानाले संयुक्त रुपमा सम्मान गरेका हुन् ।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–९ का विमल दराई र सपना नेपाली, भरतपुर–११ का हरि प्रसाद पोखरेल र सीता परियार, सायुयल परियार र अर्पना तिवारी, मिरन सुनार र इन्द्रा भुजेलको जोडी रहेको छ । यस्तै भरतपुर १५ का राज दर्जी र सिम्रन चौरेल, भरतपुर २३ का ढक बहादुर नेपाली र सुशिला महतो, भरतपुर २५ का कमल बहादुर सुनार र कल्पना बस्नेतको जोडी रहेको छ । उनीहरूलाई महानगरले बिहीबार एक कार्यक्रमका बीच नगद रु एक–एक लाख सहित सम्मान गरेको हो ।
कार्यक्रमलाई संबोधन गर्दै प्रमुख दाहालले भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताइन् । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरिन् । संविधानले जातीय विवेदलाई अपराधजन्य कार्य भनेर ठहर गरेपनि सोचे जति परिवर्तन हुन नसकेको उनले बताईन।
जनयुद्धको समयभन्दा अगाडि मान्छेले मान्छेलाई पशुजन्य व्यवहार गर्ने गरेको घटना स्मरण गर्दै प्रमुख दाहालले पहिला्को अवस्था निकै काहाली लाग्दो रहेको बताइन् । जनयुद्धको जगमा पाएका अधिकारलाई कार्यान्वन गर्न निरन्तर खबरदारी र संर्घष जारी राख्नुपर्ने उनको भनाई थियो । महानगरले यसअघि पनि अन्तरजातीय विवाह गर्ने दुई वर्षमा ३/३ जोडीलाई सम्मान गरेको थियो ।