जापानी लगानी, कृषि बजार र दुग्ध प्रशोधनमा सहकार्य बढाउने विषयमा कृषि मन्त्री र जापानी राजदूतबीच छलफल

काठमाडौं, साउन ७ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र नेपालका लागि जापानका राजदूत महामहिम मायदा तोरुबीच बिहीबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा नेपाल–जापानबीच कृषि क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण, अनुसन्धान तथा कृषि सहकार्य विस्तारका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा मन्त्री चौधरीले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै यस वर्ष मनाइँदै आएको ७०औँ वर्षगाँठले द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाएको बताउनुभयो। साथै, गत फेब्रुअरीमा नेपालको राष्ट्रपतिको जापान भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गर्दै जापान सरकारप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले सन् १९५४ देखि नेपालको सामाजिक–आर्थिक विकासमा जापानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै विशेषगरी बागवानी, तरकारी तथा फलफूलको मूल्य शृङ्खला विकासमा प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। गण्डकी प्रदेशमा सञ्चालित Gandaki SHEP परियोजना तथा कोशी प्रदेशको बीउबिजन सुधार प्राविधिक सहयोग परियोजनाले कृषि प्रणालीमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै जापान सरकार र जाइका (JICA) प्रति धन्यवाद व्यक्त गर्नुभयो।

मन्त्री चौधरीले नेपालमा क्षेत्रीय कृषि बजारको विकास, आधुनिक दुग्ध प्रशोधन प्लान्ट स्थापना, तरकारी तथा विभिन्न बालीका बीउबिजन उत्पादन, जैविक विषादी तथा मिश्रित रासायनिक मल उत्पादनमा जापानी लगानी र प्रविधि आवश्यक रहेको बताउँदै यसका लागि जापानी पक्षको विशेष सहयोगको अपेक्षा गर्नुभयो।

भेटमा कृषि अनुसन्धान, कृषि अध्ययनरत युवाका लागि Learn and Earn कार्यक्रम सञ्चालन, धान खेतीमा यान्त्रीकीकरण तथा Precision Farming जस्ता आधुनिक कृषि प्रविधिमा नेपाल–जापान सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्री चौधरीले जापानमा तीन लाखभन्दा बढी नेपालीको उपस्थितिले दुई देशबीचको जनस्तरीय सम्बन्ध थप सुदृढ भएको उल्लेख गर्दै राजदूत मायदा तोरुको कार्यकालमा नेपाल–जापानबीच आर्थिक सहकार्य, व्यापार, लगानी तथा कृषि साझेदारी अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!