काठमाडौं, साउन १० । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर (एमबीएस) प्रथम सेमेस्टरको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र ह्वाट्सएप ग्रुपमा बाहिरिएको घटनामा प्रहरीले मुख्य आरोपितलाई २४ घण्टाभित्र पक्राउ गरेको छ।
‘एमबीएस प्रथम सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र सार्वजनिक भई उत्तरसमेत मागिएको घटना सार्वजनिक भएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले तत्काल नेपाल प्रहरीसँग समन्वय गरी अनुसन्धान अघि बढाउन निर्देशन दिनुभएको थियो।
मन्त्रीको निर्देशनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र साइबर ब्युरोले डिजिटल फुटप्रिन्ट तथा ह्वाट्सएप गतिविधिको विश्लेषण गर्दै अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा ‘सुलभ सर’ भनेर चिनिने मुख्य आरोपितसहित अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
मन्त्री पोखरेलले शैक्षिक अपराधमा शून्य सहनशीलताको नीति अपनाइने बताउँदै परीक्षा प्रणालीको विश्वसनीयतामाथि खेलबाड गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट पार्नुभएको छ। साथै, प्रश्नपत्र सुरक्षामा भएको कमजोरीबारे पनि छानबिन गरी दोषीमाथि कारबाही गरिने उहाँको भनाइ छ।
यसैबीच, त्रिवि व्यवस्थापन सङ्कायको डीन कार्यालयले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले प्रश्नपत्र बाहिरिनुको कारण, सुरक्षा कमजोरी तथा भविष्यमा यस्ता घटना रोक्न अपनाउनुपर्ने उपायबारे अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।
यस घटनालाई शैक्षिक सुशासन र परीक्षा प्रणालीको विश्वसनीयतामाथिको गम्भीर चुनौतीका रूपमा हेरिएको छ।