काठमाडौं। नेपाल भेटेरिनरी एसोसिएसनले नेपालको पशु चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्दै ‘वन हेल्थ’ अवधारणा, भेटेरिनरी शिक्षा, अनुसन्धान तथा प्राविधिक सहकार्य विस्तारका लागि महत्वपूर्ण समझदारी गरेको छ।
वर्ल्ड भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसन, फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन–वन हेल्थ फुकुओका कार्यालय तथा जापान भेटेरिनरी मेडिकल एसोसिएसनबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
साउन १८ गते सम्पन्न समझदारीअनुसार भेटेरिनरी शिक्षा तथा अनुसन्धान, ‘वन हेल्थ’ अवधारणाको प्रवर्द्धन, प्राविधिक ज्ञान र अनुभव आदानप्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम, सेमिनार, अनुसन्धान तथा प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य गरिनेछ।
समझदारीपत्रमा नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदी तथा साझेदार संस्थाका तर्फबाट वर्ल्ड भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउचीले हस्ताक्षर गरेका छन्।
समझदारी कार्यान्वयनपछि नेपाली पशु चिकित्सक तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि, अन्तर्राष्ट्रिय ज्ञान र प्रविधिमा पहुँच, अनुसन्धान सहकार्य तथा पशु स्वास्थ्य सेवा सुदृढीकरणमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ। यसले पशु स्वास्थ्यसँगै खाद्य सुरक्षा, जनस्वास्थ्य तथा प्रतिजैविक प्रतिरोध (AMR) जस्ता चुनौतीहरूको प्रभावकारी व्यवस्थापनमा समेत योगदान पुर्याउने विश्वास गरिएको छ।
नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा वर्ल्ड भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. इसाओ कुराउची सहितको प्रतिनिधिमण्डल, कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारी, नेपाल भेटेरिनरी काउन्सिलका अध्यक्ष डा. हेमराज अवस्थी, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)की वरिष्ठ वैज्ञानिक डा. निना अमात्य, नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्षहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि तथा पशु स्वास्थ्य क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो।
नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले उक्त समझदारीलाई नेपालको भेटेरिनरी क्षेत्रका लागि ऐतिहासिक उपलब्धिको संज्ञा दिँदै अन्तर्राष्ट्रिय सहकार्यबाट प्रविधि हस्तान्तरण, अनुसन्धान, दक्ष जनशक्ति विकास तथा ‘वन हेल्थ’ अवधारणाको प्रभावकारी कार्यान्वयनका लागि नयाँ अवसर सिर्जना हुने बताए।
नेपाल भेटेरिनरी एसोसिएसनले वर्ल्ड भेटेरिनरी एसोसिएसन, जापान भेटेरिनरी मेडिकल एसोसिएसन तथा फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन–वन हेल्थ फुकुओका कार्यालयप्रति आभार व्यक्त गर्दै नेपालको पशु चिकित्सा सेवा, जनस्वास्थ्य तथा ‘वन हेल्थ’ अभियानलाई सुदृढ बनाउन अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।