अनधिकृत स्रोतबाट औषधि खरिद–बिक्री नगर्न व्यवसायीलाई निर्देशन

काठमाडौं। नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाले औषधिको गुणस्तर कायम राख्न तथा सुरक्षित आपूर्ति प्रणाली सुनिश्चित गर्न सम्पूर्ण थोक तथा खुद्रा औषधि व्यवसायीलाई अनधिकृत स्रोतबाट औषधि खरिद–बिक्री नगर्न निर्देशन दिएको छ।

जिल्ला शाखाका अध्यक्ष शंकर महर्जन र महासचिव शुभ मान श्रेष्ठद्वारा जारी सूचनामा व्यवसायीहरूले आधिकारिक उत्पादक, आयातकर्ता वा उनीहरूले नियुक्त गरेका आधिकारिक स्टकिस्ट तथा थोक बिक्रेताबाट मात्र औषधि खरिद गर्नुपर्ने उल्लेख गरिएको छ। स्रोत पुष्टि नभएका औषधिको कारोबार नगर्न तथा खरिद गर्दा डिडिए दर्ता नम्बर, ब्याच नम्बर, एक्सपाइरी डेट, एमआरपी र उत्पादक वा आयातकर्ताको विवरण अनिवार्य रूपमा परीक्षण गर्न आग्रह गरिएको छ।

संघले थोक बिक्रेतालाई बिल जारी गर्दा सबै विवरण मिलाएर मात्र बिल बनाउन तथा कुनै पनि फर्मको नाम वा विवरण प्रयोग गरी तेस्रो पक्षलाई औषधि बिक्री वा बिल जारी नगर्न निर्देशन दिएको छ। त्यस्तै, खुद्रा व्यवसायीलाई पनि आफ्नो फर्मको विवरण दुरुपयोग हुन नदिन सचेत रहन भनिएको छ।

औषधिको उचित भण्डारण, शीत शृंखला (कोल्ड चेन) पालना तथा औषधि ऐन, २०३५ र औषधि बिक्री–वितरण सहिता, २०८० को पूर्ण पालना गर्न आग्रह गर्दै संघले निर्देशन उल्लंघन गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!