मध्यपुर थिमिको मौलिक पहिचान ‘ परम्परागत भैलः प्याख’ : भाद्र १४ देखि १७ गतेसम्म

मध्यपुर थिमि । मध्यपुर थिमिको पहिचान र मौलिक संस्कृतिसँग जोडिएको परम्परागत थिमि भैलः प्याख (भैरव नाच)ले यस वर्ष पनि निरन्तरता पाउने भएको छ। श्री गणेश सांस्कृतिक समाज, कुम्हाननी/तुलननीको आयोजनामा यही भाद्र १४ गतेदेखि १७ गतेसम्म परम्परागत थिमि भैलः प्याख प्रदर्शन गरिने भएको हो। आज कुम्हाननीमा आयोजना गरिएको परम्परागत थिमि भैलः प्याख सम्बन्धि जानकारीमुलक कार्यक्रममा सो जानकारी दिईएको हो ।

मध्यपुर थिमिमा पुस्तौंदेखि चल्दै आएको यो नाच स्थानीय समुदायको धार्मिक आस्था, सांस्कृतिक पहिचान, मौलिक कला र परम्पराको जीवन्त दस्तावेजका रूपमा लिइन्छ।

उपलब्ध ऐतिहासिक तथा सांस्कृतिक विवरण अनुसार मध्यपुर थिमिमा मुख्यतः चार गुरु समूहबाट भैरव नाच आयोजना हुँदै आएको छ। प्रजापति समुदायको ‘परम्परागत थिमि भैल’, प्रजापति समुदायकै अर्को गुरुबाट सिकाइने ‘थिमि भैल’, लायकुबाट सञ्चालन हुने ‘लायकु भैल’ तथा नगदेशबाट सञ्चालन हुने ‘नगदेश परम्परागत तान्त्रिक भैल’ यस परम्पराका प्रमुख स्वरूप हुन्।

 

भैरव नाचमा विभिन्न देबगणको प्रस्तुति

परम्परागत थिमि भैलः प्याखमा विभिन्न देबगणको विशेष भूमिका हुन्छ। यसमा ज्यापूङ्गचा, न्हापा भैल, लिपा भैल, न्हापा दागि र लिपा दागि गरि पाच देबगणको प्रस्तुति रहनेछ।

सांस्कृतिक मान्यता अनुसार ज्यापूङ्गचालाई हरिसिद्धिको प्रतीकका रूपमा लिइन्छ भने न्हापा भैललाई प्रचण्ड भैरब र लिपा भैललाई बटुक भैरवसँग सम्बन्धित प्रतीकका रूपमा व्याख्या गरिएको छ। न्हापा दागिलाई कुमारी र लिपा दागिलाई महालक्ष्मीको रुपमा लिईन्छ।

२७ तालमा नाचिने मौलिक प्रस्तुति

थिमि भैलः प्याखको अर्को महत्वपूर्ण विशेषता यसको बाजा र नृत्यको ताल हो। परम्परागत रूपमा ३२ ताल नचाउने प्रचलन रहेको उल्लेख भए पनि हाल २७ ताल प्रचलनमा रहेको सांस्कृतिक विवरणमा उल्लेख छ।

भैलः प्याखको प्रदर्शनअघि विशेष पूजा तथा धार्मिक विधि पूरा गरिन्छ। गुरुबाट देवगणको शिरमा विशेष गुठीपूजा गरी ‘सिउ’ राखिदिने परम्परा रहेको बताइन्छ। त्यसपछि प्रशिक्षण तथा धार्मिक विधि पूरा गरी नाच प्रदर्शनका लागि कलाकारहरू तयार हुन्छन्।

दुःख–कष्टबाट मुक्ति र शान्तिको कामनासँग जोडिएको विश्वास

थिमि भैलः प्याखको धार्मिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ। स्थानीय जनविश्वासअनुसार प्राचीन समयमा नगरवासीलाई भूत, प्रेत, लाखे तथा पिशाचजन्य दुःख–कष्टबाट मुक्ति दिलाउने उद्देश्यले भैरव नाच सञ्चालन गरिएको मानिन्छ।

राजा तथा प्रजा बीचको दुःख, कष्ट र अशान्ति हटाई देश तथा जनतामा शान्ति कायम होस् भन्ने कामनासँग समेत यसको सम्बन्ध जोडिएको सांस्कृतिक विवरणमा उल्लेख छ। यही धार्मिक तथा सांस्कृतिक विश्वासका कारण आज पनि भैलः प्याखलाई श्रद्धा र भक्तिपूर्वक हेर्ने तथा पूजा गर्ने गरिन्छ।

गुरु–शिष्य परम्पराले धानेको संस्कृति

थिमि भैलः प्याखको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक गुरु–शिष्य परम्परा हो। नाच सिकाउने गुरुहरूलाई सम्मान गर्ने, गुरुबाट विधि सिक्ने र त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रिया निरन्तर चल्दै आएको छ।

यसले पुस्तान्तरण हुँदै आएको थिमिको मौलिक कला र संस्कृतिलाई जीवित राख्न सहयोग पुर्‍याएको छ। आधुनिक जीवनशैली र नयाँ पुस्ताको बदलिँदो रुचिका बीच पनि स्थानीय समुदायले आफ्नो मौलिक परम्परालाई निरन्तरता दिन गरेको प्रयासका रूपमा भैलः प्याखलाई लिन सकिन्छ।

संस्कृति जोगाउने अभियानमा यस वर्ष पनि आयोजना

श्री गणेश सांस्कृतिक समाज, कुम्हाननी/तुलननीले ‘परम्परागत थिमि भैलः प्याखलाई निरन्तरता दिने’ उद्देश्यका साथ यस वर्षको कार्यक्रम आयोजना गरेको जनाएको छ।

समाजका अनुसार मध्यपुर थिमिको मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नु नै यस नाचको मुख्य उद्देश्य हो। यस वर्ष हुने भैलः प्याखले थिमिको मौलिक संस्कृति नयाँ पुस्ता माझ चिनाउन र संरक्षणमा समुदायको चासो बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

थिमिको भैलः प्याख एउटा नाच मात्र होइन, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको इतिहास, आस्था, कला र सामुदायिक पहिचानको जीवन्त प्रस्तुति हो। त्यसैले यसको संरक्षण र निरन्तरता स्थानीय समुदायसँगै नयाँ पुस्ताको पनि साझा जिम्मेवारी बन्न पुगेको छ।

परम्परागत थिमि भैलः प्याख २०८० सालमा चपाचोबाट, २०८१ ्सालमा ताहाननीबाट, २०८२ मा लायकु दरबार र नगदेशबाट प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!