भक्तपुर, २२ साउन । मध्यपुर थिमि नगरपालिकाले पछिल्लो चार वर्षमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सुशासन तथा राजस्व व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ। नगरपालिकाको आन्तरिक राजस्व संकलन चार वर्षको अवधिमा ९३.३९ प्रतिशतले वृद्धि भएको नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ।
क्रियाशील पत्रकार मञ्च भक्तपुरले शुक्रबार मध्यपुर थिमिमा आयोजना गरेको ‘मध्यपुर थिमि नगरपालिकाको चारवर्षे विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया’ कार्यक्रममा नगर प्रमुख श्रेष्ठले करका दरमा वृद्धि नगरी करको दायरा विस्तार र कर प्रशासनमा सुधारमार्फत राजस्व वृद्धि गर्न सफल भएको बताउनुभयो।
नगरपालिकाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ४५ लाख ९४ हजार ६६७ रुपैयाँ रहेको आन्तरिक राजस्व २०७९/८० मा बढेर २४ करोड १३ लाख ३८ हजार ७४८ रुपैयाँ पुगेको थियो। त्यस्तै, आव २०८०/८१ मा ३० करोड ४ लाख ४४ हजार ५६५ रुपैयाँ र आव २०८१/८२ मा २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ राजस्व संकलन भएको थियो।
चालु आर्थिक वर्ष २०८२/८३ मा भने असार मसान्तसम्म ५२ करोड ५६ लाख १ हजार ४२७ रुपैयाँ आन्तरिक राजस्व संकलन भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो।
उहाँका अनुसार आवासीय घरबहाल कर १० प्रतिशतबाट ५ प्रतिशतमा घटाइएको छ। लामो समयदेखि कर नतिरेका ठूला व्यवसायीलाई करको दायरामा ल्याउनुका साथै करको दायराबाहिर रहेका व्यवसायलाई समेटिएको र कर नीतिमा सुधार गरिएकाले राजस्वमा उल्लेख्य वृद्धि भएको हो।
६२ करोड मौज्दात, आफ्नै स्रोतबाट नगर भवन निर्माण
नगर प्रमुख श्रेष्ठले संघीय सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार विकासका लागि जम्मा ५५ लाख रुपैयाँ मात्र बजेट पठाएको बताउँदै नगरपालिकासँग करिब ६२ करोड रुपैयाँ मौज्दात रहेको जानकारी दिनुभयो।
नगरपालिकाले आफ्नै आन्तरिक स्रोतबाट करिब ३६ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न नयाँ नगर भवन निर्माण सुरु गरेको उहाँले बताउनुभयो।
‘हाम्रो चार वर्षे कार्यकालमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छौं,’ नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘सीमित स्रोत–साधनका बाबजुद पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरेका छौं।’
नगरपालिकाले चार वर्षको अवधिमा ७९ वटा ऐन, नियम, कार्यविधि तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो।
शिक्षा क्षेत्रमा छात्रवृत्ति र दिवा खाजामा जोड
नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन तथा शिक्षक व्यवस्थापनलाई प्राथमिकता दिएको जनाएको छ।
कक्षा १ देखि १० सम्मका ४ हजार ८१४ विद्यार्थी तथा कक्षा ११ र १२ का २०४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो।
त्यस्तै, केन्द्रीकृत भान्छाघरमार्फत कक्षा ५ सम्मका करिब २ हजार ७०० विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको छ। आगामी चरणमा कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ।
अस्पतालमा दैनिक १२ सय बिरामीलाई सेवा
स्वास्थ्य क्षेत्रमा ज्येष्ठ नागरिक, दलित, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा, रेबिज तथा निमोनिया खोप, क्यान्सर परीक्षण, होमियोप्याथिक सेवा तथा ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल मा डायलासिस, सिटी स्क्यान, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, शल्यक्रिया तथा विभिन्न विशेषज्ञ सेवा विस्तार गरिएको छ।
अस्पतालबाट दैनिक करिब १ हजार २०० बिरामीले सेवा लिइरहेको नगर प्रमुख श्रेष्ठले बताउनुभयो। निर्माण सम्पन्न हुने चरणमा रहेको नयाँ सुविधासम्पन्न भवनबाट थप विशिष्टीकृत स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारी रहेको उपप्रमुख विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो।
बीमा रकम समयमा प्राप्त नभए पनि देशका विभिन्न जिल्लाबाट उपचारका लागि आएका बिरामीलाई अस्पतालले सेवा दिइरहेको उहाँले बताउनुभयो।
१६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट
पूर्वाधार विकासतर्फ सडक कालोपत्रे तथा पक्की गर्ने, घरघरमा खानेपानी पुर्याउने, विद्यालय तथा स्वास्थ्य संस्थाका भवन निर्माण, पार्क निर्माण, मठमन्दिर पुनर्निर्माण र मूर्त तथा अमूर्त सम्पदाको संरक्षणमा काम भइरहेको नगरपालिकाले जनाएको छ।
‘मध्यपुर उज्यालो अभियान’ अन्तर्गत मध्यपुर थिमिका विभिन्न सडकमा करिब १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडान गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।
नीलबाराही क्षेत्र संरक्षणको काम पनि अघि बढाइएको उहाँले बताउनुभयो।
समस्याग्रस्त सहकारीका बचतकर्तालाई रकम फिर्ता
नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि समिति गठन गरी कृषि बचत तथा ऋण सहकारी संस्थाका ५१२ जना बचतकर्तालाई कुल ५२ लाख ४० हजार रुपैयाँ फिर्ता गरिएको जनाएको छ।
शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण तथा रोजगारी सिर्जनाका क्षेत्रमा नगरपालिकाले लगानी बढाउँदै गएको नगर प्रमुख श्रेष्ठको भनाइ छ।

२ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालु आर्थिक वर्षका लागि २ अर्ब ७१ करोड रुपैयाँको बजेट कार्यान्वयनमा रहेको जानकारी दिनुभयो। शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट खर्च भइरहेको उहाँले बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले विगत चार वर्षको बजेट कार्यान्वयनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। जनप्रतिनिधिको कार्यकालको अन्तिम वर्ष भएकाले यस वर्ष पनि जनताको चाहना र आवश्यकताअनुसार महत्वपूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
कार्यक्रमका सभापति एवं क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय तहको विकासलाई जनतासँग प्रत्यक्ष जोडेर अघि बढाउनुपर्ने बताउनुभयो। स्थानीय तह र सञ्चारमाध्यमबीच सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्थानीय तह जनताका लागि ‘नजिकको सिंहदरबार’ भएकाले स्थानीय आवश्यकता र नागरिकको सहज पहुँचलाई जनप्रतिनिधिले प्राथमिकता दिनुपर्ने बताउनुभयो।