काठमाडौं, नेपाल लेयर्स कुखुरापालक संघले सरकारसँग पोल्ट्री क्षेत्रका समस्या तत्काल सम्बोधन गर्न माग गरेको छ। कृषि, बन तथा बाताबरण मन्त्री गीता चौधरीसँग मन्त्रालयमा भेट गरी संघले पोल्ट्री क्षेत्रको वर्तमान अवस्था, बढ्दो उत्पादन लागत र व्यवसायले सामना गरिरहेका चुनौतीबारे जानकारी गराएका हुन्।
सघिय सासद मा. हरि ढकालको समन्वयमा भएको भेटमा संघले अण्डा उत्पादनमा लाग्ने दाना, चल्ला, औषधि, विद्युत्, श्रम लगायत खर्च बढ्दै गए पनि त्यसअनुसार किसानले मूल्य पाउन नसकेको जनाएको थियो। पछिल्लो समय अण्डाको मूल्य निरन्तर बढेको भए पनि अझै पनि उत्पादन लागत समेत उठाउन कठिन रहेको संघको भनाइ थियो।
संघले पोल्ट्री व्यवसायमा प्रयोग हुने प्रमुख कच्चापदार्थ आयातमा लाग्दै आएको कृषि सुधार शुल्क तथा भन्सारका कारण लागत बढेको भन्दै यसमा सहजीकरण गर्न आग्रह गरेको छ। त्यस्तै, विद्युत् महसुलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने माग पनि संघले मन्त्रीसमक्ष राखेको थियो। नेपालको पोल्ट्री क्षेत्रका लागि अर्को चुनौतीका रूपमा खुला सीमा नाकाबाट हुने अवैध आयातलाई संघले प्रस्तुत गरेको छ। अण्डा, चल्ला, जिउँदो कुखुरा तथा तयारी मासु अवैध रूपमा भित्रिँदा स्वदेशी उत्पादनको बजार प्रभावित हुनुका साथै किसानले उचित मूल्य पाउन नसक्ने अवस्था आएको संघको भनाइ छ। सीमा नाकाबाट हुने यस्तो कारोबार नियन्त्रण गर्न तत्काल प्रभावकारी कदम चाल्न संघले सरकारसँग आग्रह गरेको छ।
भेटमा पोल्ट्री क्षेत्रले मुलुकको अर्थतन्त्र र खाद्य तथा पोषण सुरक्षामा पुर्याउँदै आएको योगदानबारे जानकारी गराउदै संघले स्वदेशी पुँजीको ठूलो हिस्सा परिचालन भएको पोल्ट्री व्यवसायले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्नुका साथै अण्डा र मासुजस्ता प्रोटिनयुक्त खाद्यवस्तुको स्वदेशमै उत्पादनमार्फत पोषण सुरक्षामा योगदान पुर्याउँदै आएको जनाएको थियो।
संघका अनुसार उठाइएका विषयमा मन्त्री चौधरी सकारात्मक देखिएकी छन्। मन्त्री चौधरीले विद्युत् महसुलमा लाग्ने भ्याट खारेजीका लागि पहल गर्नुका साथै अवैध रूपमा आयात हुने पोल्ट्रीजन्य वस्तु नियन्त्रणका लागि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएकी छन्।
मन्त्रीसँगको छलफल प्रभावकारी भएको र उठाइएका विषय कार्यान्वयनका लागि तत्कालै पहल गर्ने प्रतिबद्धता प्राप्त भएको संघले जनाएको छ।
नेपाल लेयर्स कुखुरापालक संघ अण्डा उत्पादनमा संलग्न किसान तथा व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था हो। संघले लेयर्स व्यवसायको संरक्षण, प्रवर्द्धन तथा किसानका समस्या समाधानका लागि समन्वय गर्दै आएको छ।
भेटमा संघका अध्यक्ष विनोद पोखरेल, उपाध्यक्ष ज्योतेन्द्र श्रेष्ठ, अमोद खनाल, महासचिव भेषराज अर्याल, सल्लाहकार सुनिल कुमार शाक्य तथा व्यवसायी राजन पिया सहभागी थिए।
सरकारले संघले उठाएका विषयमा ठोस निर्णय गरी कार्यान्वयन गरे उत्पादन लागत घटाउन, किसानलाई उचित मूल्य दिलाउन र स्वदेशी पोल्ट्री व्यवसायलाई थप प्रतिस्पर्धी तथा दिगो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।