पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि रास्वपा सभापति लामिछानेसँग लेयर्स कुखुरापालक संघको भेट

काठमाडौं। नेपाल लेयर्स कुखुरापालक संघले पोल्ट्री क्षेत्रका समसामयिक समस्या र समाधानका उपायबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य माननीय रवि लामिछानेसँग भेटवार्ता गरेको छ।

संघले आज लामिछानेसँग भेट गरी नेपालको पोल्ट्री क्षेत्रको वर्तमान अवस्था, अर्थतन्त्रमा पुर्‍याउँदै आएको योगदान तथा मुलुकलाई आत्मनिर्भर बनाउन खेलेको भूमिकाबारे जानकारी गराएको हो। संघले पोल्ट्री व्यवसायबाट उत्पादन हुने जैविक मलमार्फत प्राङ्गारिक कृषि प्रवर्द्धन तथा थप रोजगारी र आर्थिक गतिविधि विस्तारको सम्भावनासमेत रहेको जनाएको छ।

भेटका क्रममा संघले पोल्ट्री व्यवसायमा प्रयोग हुने प्रमुख कच्चापदार्थ आयातमा लाग्दै आएको कृषि सुधार शुल्क तथा भन्सार, विद्युत् महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर र खुला सीमा नाकाबाट हुने अवैध पोल्ट्रीजन्य वस्तुको आयातलाई प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरेको थियो।

विशेषगरी अण्डा, चल्ला, जिउँदो कुखुरा तथा तयारी कुखुराको मासु अवैध रूपमा आयात हुँदा स्वदेशी उत्पादकले ठूलो प्रतिस्पर्धात्मक दबाब झेल्नुपरेको संघको भनाइ छ। यसका साथै व्यवसायमा बैंक ब्याजदर तथा विद्युत् खर्चको भार बढ्दै गएको भन्दै पोल्ट्री क्षेत्रलाई सहुलियतपूर्ण बैंक ब्याज तथा विद्युत् महसुलमा छुटको व्यवस्था गर्न पहल गरिदिन संघले लामिछानेसमक्ष आग्रह गरेको छ।

आफ्ना मुद्दाहरुमा सभापति लामिछाने सकारात्मक देखिएको र पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेको संघले जनाएको छ।

पोल्ट्री क्षेत्रका समस्या समाधानका लागि संघले राजनीतिक दल तथा सम्बन्धित सरकारी निकायसँग निरन्तर छलफल अघि बढाउँदै आएको छ। यसअघि हिजो मात्रै संघले कृषि मन्त्री गीता चौधरीसँग भेट गरी पोल्ट्री क्षेत्रका समस्या र नीतिगत सुधारका विषयमा ध्यानाकर्षण गराएको थियो।

भेटमा प्रतिनिधि सभा सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति माननीय हरि ढकाल, नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, उपाध्यक्ष ज्योतेन्द्र श्रेष्ठ, अमोद खनाल, महासचिव भेषराज अर्याल तथा सल्लाहकार सुनिल कुमार शाक्यको सहभागिता थियो।

संघले स्वदेशी पोल्ट्री उत्पादनलाई संरक्षण गर्दै आयात प्रतिस्थापन, उत्पादन लागत न्यूनीकरण र किसानको लगानी सुरक्षित गर्न तत्काल नीतिगत हस्तक्षेप आवश्यक रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!