काठमाडौं, रत्न काजि प्रजापति ।
अण्डाको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल लेयर्स कुखुरापालक संघले भोलि साउन ३० गतेदेखि लागू हुने गरी नयाँ फार्म समर्थन मूल्य निर्धारण गरेको हो।
काठमाडौंमा भएको संघको भौतिक तथा भर्चुअल बैठकपछि नयाँ मूल्य सार्वजनिक गरेको हो। नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रतिक्रेट ५७५ रुपैयाँ, ठूलो अण्डा ५६० रुपैयाँ र मिडियम अण्डा ५२० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, सानो अण्डा प्रतिपेटी ३ हजार २०० रुपैयाँ निर्धारण गरिएको संघले जनाएको छ। खुद्रा मुल्य भने प्रति गोटा २५ रुपैयाँ कायम रहनेछ।
पछिल्लो समय अण्डाको मूल्यमा लगातार बृद्दि हुदै आएको छ। यो सहित साउन महिनामा मात्र चार पटक मुल्य बृद्दि भएको छ । उत्पादनमा आएको कमी, बजारमा मागमा भएको वृद्धि तथा पोल्ट्री क्षेत्रमा देखिएको रोगको प्रभावले अण्डाको बजार प्रभावित हुँदै आएको व्यवसायीहरू बताउँछन्। बर्डफ्लुको प्रभावपछि ठूलो संख्यामा लेयर्स कुखुरा नष्ट हुँदा उत्पादन घटेको र त्यसको असर बजारमा परेको बताइएको छ।

यसअघि साउन २६ गतेदेखि लागू हुने गरी संघले एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो ५४५ रुपैयाँ, मिडियम ५०० रुपैयाँ र सानो अण्डा प्रतिपेटी ३ हजार रुपैयाँ समर्थन मूल्य तोकेको थियो। त्यसको ३ दिनमै पुनः मूल्य बढाउँदै नयाँ दर निर्धारण गरिएको हो। पछिल्लो निर्णय अनुसार एक्सएल र ठूलो अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले, मिडियम अण्डाको २० रुपैयाँले र सानो अण्डाको मूल्य प्रतिपेटी २०० रुपैयाँले बढेको छ।
अण्डाको मूल्य बढ्दै गए पनि किसानले उत्पादन लागत अनुसारको मूल्य पाउन नसकेको गुनासो भने कायमै छ। संघका अनुसार अण्डाको उत्पादन लागत प्रतिगोटा करिब १९ रुपैयाँ १२ पैसा रहेको छ। यस आधारमा प्रतिक्रेट अण्डाको लागत करिब ५७३ रुपैयाँ ६० पैसा पुग्छ। यस हिसाबले नयाँ समर्थन मूल्यले एक्सएल अण्डामा किसानलाई लागत नजिकको मूल्य प्राप्त हुने अवस्था बनेको देखिए पनि उत्पादन लागत, दाना, औषधि, श्रम तथा अन्य सञ्चालन खर्च बढिरहेको अवस्थामा किसानको वास्तविक नाफा भने चुनौतीपूर्ण रहेको व्यवसायीहरूको भनाइ छ। जे भए पनि यो मुल्य बृद्दि संगै भने किसानले राहतको महशुस पक्कै गरेको हुनु पर्छ ।
अण्डाको मूल्यमा छोटो–छोटो अवधिमा भइरहेको परिवर्तनले किसान, व्यवसायी र उपभोक्ता तीनै पक्ष प्रभावित भएका छन्। किसानले लागत अनुसारको मूल्य नपाउने गरेको गुनासो र उपभोक्ताले बजारमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाबीच मूल्य निर्धारण प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको छ।
नेपाल लेयर्स कुखुरापालक संघले भने किसानको उत्पादन लागत र बजारको माग र आपूर्ति अवस्थालाई आधार बनाएर समर्थन मूल्य निर्धारण गर्दै आएको जनाएको छ।