वीरगन्जमा अवैध रूपमा औषधि प्याकिङ गर्ने फर्मास्युटिकल्स सञ्चालक चौहान पक्राउ

वीरगन्ज । वीरगन्जमा बिना अनुमति औषधि प्याकिङ गरी बजारमा बिक्री–वितरण गरेको आरोपमा प्रहरीले एक फर्मास्युटिकल्सका सञ्चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–११, श्रीपुरस्थित आरपी फार्मास्युटिकल्स प्रालिका सञ्चालक राहुल चौहान रहेका छन्।

करिब डेढ वर्षदेखि फर्मास्युटिकल्सको आडमा अवैध रूपमा औषधि प्याकिङ तथा कारोबार भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी नायब उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले शुक्रबार फर्मास्युटिकल्समा छापा मारेको थियो। सोही क्रममा प्रहरीले अवैध रूपमा प्याकिङ गरिएका औषधि, कच्चा पदार्थका रूपमा राखिएका औषधिजन्य वस्तु, स्टिकर तथा लेबलहरू समेत बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले चौहानलाई नियन्त्रणमा लिइएको पुष्टि गरे। उनका अनुसार बिना अनुमति औषधिजन्य पदार्थ प्याकिङ भइरहेको सूचनाका आधारमा खानतलासी गरिएको हो। बरामद सामग्रीसहित चौहानलाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!