भारतीय स्थल सेनाध्यक्ष सेठ नेपाल भ्रमणमा

काठमाडौँ, साउन ३१ गते । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुग्नुभएको छ।

पाँच सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै आउनुभएका सेनाध्यक्ष सेठसँग उहाँकी धर्मपत्नी कोमल सेठ पनि नेपाल भ्रमणमा सहभागी हुनुहुन्छ। उहाँहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रदीपजङ्ग केसी तथा उहाँकी धर्मपत्नीले स्वागत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई भदौ १ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमणका क्रममा नेपाली सेनाका उच्च अधिकारीसँग द्विपक्षीय भेटवार्ता तथा सैनिक सहकार्यका विषयमा छलफल हुने जनाइएको छ। भ्रमणले नेपाल र भारतबीच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सैनिक सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउन योगदान पुग्ने नेपाली सेनाले विश्वास व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!