काठमाडौँ, साउन ३१ गते । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन नयाँ व्यवस्था लागू गरेको छ। निगमले भदौ १ गतेदेखि ग्यास उद्योगले नियुक्त गरेका आधिकारिक विक्रेतामार्फत नियमित प्रक्रियाबाट मात्रै ग्यास बिक्री वितरणको व्यवस्था मिलाएको जनाएको छ।
निगमले जारी गरेको सूचनाअनुसार उपभोक्ताले आफूलाई पायक पर्ने ग्यास विक्रेतामार्फत ग्यास खरिद गर्न सक्नेछन्। बिक्री वितरणलाई व्यवस्थित बनाउन ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगममा उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरलगायतको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई उपलब्ध गराउनुपर्नेछ। सम्बन्धित उद्योगले उक्त विवरण सोही दिन नेपाल आयल निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
निगमले ग्यास बिक्री वितरण गर्दा अत्यावश्यक भएका तथा घरायसी प्रयोजनका लागि ग्यास प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राख्न पनि सम्बन्धित पक्षलाई निर्देशन दिएको छ।
ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षा व्यवस्था सहज बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत गृह मन्त्रालयमा अनुरोध गरिएको निगमले जनाएको छ। साथै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग समन्वय गरी निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीबाट ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
नजिकका विक्रेताबाट कुनै कारणवश ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले नेपाल आयल निगममा सञ्चालनमा रहेको क्विक रेस्पोन्स टिम (QRT) मा सम्पर्क गर्न सक्नेछन्। निगमले QRT का मोबाइल नम्बरमा सम्पर्क गरी आवश्यक जानकारी लिन आग्रह गरेको छ।
निगमको केन्द्रीय कार्यालय बबरमहलबाट जारी सूचनाले ग्यासको बिक्री वितरणमा पारदर्शिता कायम गर्दै वास्तविक उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्य राखेको देखिन्छ।
