मकवानपुर । बकैया गाउँपालिका–९, शिखरपुरमा एक गाईमा रेबिज रोग पुष्टि भएपछि गाउँपालिकाको पशुपन्छी शाखाले रोग नियन्त्रण, निगरानी तथा जनचेतनामूलक अभियानलाई तीव्रता दिएको छ।
एक किसानको गाईमा अचानक आक्रामक हुने, अस्वाभाविक रूपमा कराउने तथा मुखबाट निरन्तर र्याल काड्ने लगायतका लक्षण देखिएपछि उपचारकै क्रममा गाईको मृत्यु भएको थियो। घटनाबारे जानकारी प्राप्त हुनासाथ पशुपन्छी शाखा प्रमुख एवं पशु चिकित्सक डा. अविनाश ठाकुरको नेतृत्वमा प्राविधिक अमिन अन्सारी, अजय बर्तौला र मोहित साहसहितको टोली घटनास्थल पुगेको थियो।
टोलीले गरेको प्रारम्भिक र्यापिड परीक्षणमा रेबिज पोजेटिभ देखिएपछि आधिकारिक पुष्टि गर्न साउन २९ गते नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको थियो। भदौ ३ गते प्राप्त अन्तिम रिपोर्टले पनि रेबिज संक्रमण पुष्टि गरेको डा. ठाकुरले जानकारी दिए।
रेबिज पशुबाट मानिसमा समेत सर्न सक्ने जुनोटिक रोग भएकाले घटनालाई जनस्वास्थ्यसँग जोडेर उच्च सतर्कता अपनाइएको शाखाले जनाएको छ। रिपोर्ट प्राप्त भएपछि जोखिममा रहेका किसानलाई गाउँपालिकामा बोलाएर रोगको प्रकृति, संक्रमणको जोखिम र अपनाउनुपर्ने सावधानीबारे जानकारी गराइएको छ।
पशुपन्छी शाखाले गाउँपालिकाको स्वास्थ्य शाखासँग समन्वय गरी जोखिममा रहेका व्यक्तिका लागि रेबिजविरुद्धको पोस्ट एक्सपोजर प्रोफिल्याक्सिस (पीईपी) खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ।
शाखाका अनुसार रेबिज संक्रमित पशुमा सुरुमा स्वभावमा अचानक परिवर्तन आउने, अत्यधिक उत्तेजित वा आक्रामक हुने, मानिस तथा अन्य पशुलाई टोक्न खोज्ने, अस्वाभाविक रूपमा कराउने र टोलाउनेजस्ता लक्षण देखिन सक्छन्। संक्रमण बढ्दै जाँदा मुखबाट बाक्लो र्याल आउने, पानी तथा दाना निल्न कठिन हुने, घाँटी तथा बङ्गारा कमजोर हुने, पछाडिका खुट्टा लुला हुने र पक्षघात हुँदै मृत्यु हुने गर्छ।
रेबिज लक्षण देखिएपछि अत्यन्त घातक हुने भएकाले रोकथाममा विशेष सावधानी आवश्यक रहेको पशु चिकित्सकहरूले बताएका छन्। घरपालुवा पशुलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउनु तथा शंकास्पद पशुको सम्पर्कबाट जोगिनु महत्वपूर्ण मानिन्छ।
शाखाले असामान्य व्यवहार देखाउने पशुको नजिक नजान, बाँध्ने वा समात्ने प्रयास नगर्न तथा घरेलु उपचारमा समय नखर्चिन पशुपालकलाई आग्रह गरेको छ। गाईवस्तुमा अत्यधिक र्याल आउने, अस्वाभाविक आक्रामकता वा पक्षघातजस्ता लक्षण देखिए तत्काल पशु स्वास्थ्यकर्मी वा गाउँपालिकाको पशुपन्छी शाखामा जानकारी गराउन अनुरोध गरिएको छ।
शंकास्पद पशुले टोकेमा वा कोरेमा घाउलाई साबुन र बगिरहेको सफा पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी पखाली तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गरी आवश्यक पीईपी खोप लिन शाखाले आग्रह गरेको छ।