पोखरा, भदौ ४ गते । पोखरामा आगामी सेप्टेम्बर १९ अर्थात् असोज ३ गते ‘राइट टु प्रोटिन रन २०२६’ आयोजना हुने भएको छ। आयोजकका अनुसार प्रतियोगितामा ४ हजारभन्दा बढी धावक सहभागी हुने अपेक्षा गरिएको छ।
नेपाल दाना उद्योग संघको आयोजनामा तथा यूएस सोयाबिन एक्सपोर्ट काउन्सिल (यूएसएसईसी) को मुख्य प्रायोजन र नेपाल एथलेटिक्स संघको प्राविधिक सहकार्यमा प्रतियोगिता आयोजना हुन लागेको हो।
प्रोटिन, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुने दौडमा पुरुष तथा महिला हाफ म्याराथन, खुला दौड, विद्यालयस्तरीय युवा दौड र ह्विलचेयर दौडसहित आठ विधा समावेश गरिएका छन्।
२१ किलोमिटर हाफ म्याराथनको पुरुष र महिला दुवै विधाका विजेताले जनही १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। सबै विधाका उत्कृष्ट पाँच धावकलाई गरी कुल १२ लाख ८० हजार रुपैयाँ पुरस्कार वितरण गरिनेछ। आयोजकका अनुसार २५ प्रतिशत करसमेत समावेश गर्दा कुल पुरस्कार प्याकेज १६ लाख रुपैयाँ पुग्नेछ।
दौड पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भई हलनचोक, खहरे, सेदी, खपौदी, पामे हुँदै लौरुकसम्म पुगेर सोही मार्गबाट फर्कनेछ।
सन् २०१९ देखि आयोजना हुँदै आएको ‘राइट टु प्रोटिन रन’ ले पोषणसम्बन्धी बहसलाई सम्मेलन र कार्यक्रमबाट समुदायस्तरसम्म पुर्याउने लक्ष्य लिएको आयोजकले जनाएको छ। यस वर्ष अण्डा, कुखुराको मासु, माछा, दूध, सोयाबिन, टोफु, पनिर, दाल तथा गेडागुडीजस्ता सहजै उपलब्ध हुने प्रोटिनका स्रोतबारे जनचेतना फैलाइनेछ।
दौड मार्गमा पानी तथा हाइड्रेसन स्टेसन, प्राथमिक उपचार र स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। साथै एम्बुलेन्स तथा आकस्मिक स्वास्थ्य सेवाको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ।
दाना उद्योग संघका अनुसार प्रतियोगिताले पोखरालाई खेल तथा स्वास्थ्य पर्यटनको गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै नयाँ धावकलाई अवसर प्रदान गर्ने र पोषण, शारीरिक सक्रियता तथा दीर्घकालीन स्वास्थ्यबीचको सम्बन्धबारे जनचेतना बढाउने अपेक्षा गरिएको छ।