काठमाडौं/ ईश्वर थापा ।
औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी पुनः भरत भट्टराईले पाएका छन्। स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्री निशा मेहताले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै भट्टराईलाई विभागको महानिर्देशकको जिम्मेवारी दिने निर्णय गरेकी हुन्।
भट्टराई यसअघि पनि औषधि व्यवस्था विभागको महानिर्देशकका रूपमा काम गरिसकेका अनुभवी औषधि प्रशासक हुन्। पहिलो पटक तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकालको कार्यकालमा २०७७/०६/२९ – २०७८/०५/१५, दोश्रो पटक २०७८/०९/२७ – २०८०/०२/१७ सम्म भट्टराई महानिर्देशक नियुक्त भै सकेका छन।
औषधि नियमन, गुणस्तर अनुगमन, औषधि बजार व्यवस्थापन तथा नियामकीय प्रणालीका विषयमा लामो अनुभव भएका भट्टराईले यसअघि राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। भट्टराईको पुनरागमनसँगै औषधिको गुणस्तर तथा सुरक्षा, बजार अनुगमन, औषधि रिकल प्रणाली, मूल्य नियमन, दर्ता तथा व्यवसायीसम्बन्धी नियमनलगायत विषयमा विभागको आगामी भूमिका महत्वपूर्ण हुने देखिएको छ।
विशेषगरी पछिल्लो समय औषधिको गुणस्तर परीक्षण, बजारमा देखिने अनियमितता, नक्कली तथा गुणस्तरहीन औषधिको नियन्त्रण र रिकल प्रणालीलाई प्रभावकारी बनाउने विषयमा प्रश्न उठिरहेका बेला अनुभवी भट्टराईको पुनः नेतृत्वमा आगमनलाई औषधि क्षेत्रले चासोका साथ हेरेको छ। लामो समयदेखि औषधि प्रशासनमा कार्यरत उनी विभागको नियमन तथा औषधिको गुणस्तरसम्बन्धी विषयमा जानकार अधिकारीका रूपमा चिनिन्छन्।
भट्टराईको नियुक्तिसँगै विभागले औषधि बजारको प्रभावकारी अनुगमन, गुणस्तर परीक्षण तथा नियमनलाई थप कडाइ गर्ने अपेक्षा गरिएको छ।