हेटौंडा । माथिल्लो क्षेत्रमा भोटेकोशी नदीमा बाढी आएको सूचना प्राप्त भएपछि बागमती प्रदेशका मुख्यमन्त्रीले नदी–खोला किनार तथा तल्लो भूभागका बस्तीमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।
मुख्यमन्त्रीले विशेषगरी रसुवा, धादिङ, गोरखा, नुवाकोट र चितवन आसपासका नदी तथा खोला किनारका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न आग्रह गरेका हुन्।
उनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई नदी तथा खोला किनारमा नबस्न, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा गर्भवती महिलाको सुरक्षामा विशेष ध्यान दिन र परिवार तथा छिमेकीलाई समेत जोखिमबारे जानकारी गराउन अनुरोध गरेका छन्।
सम्बन्धित स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धारमा खटिएका निकायबाट जारी हुने सूचना तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न पनि मुख्यमन्त्रीले आग्रह गरेका छन्। ‘यो समय सतर्कता र सुरक्षित रहनुपर्ने समय हो। आफू सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित रहन सहयोग गरौँ,’ मुख्यमन्त्रीको अपिलमा भनिएको छ।