बाढी प्रभावित पशुधनको स्वास्थ्यप्रति कान्तिपुर भेट डिस्ट्रिब्युटर्सको संवेदनशील पहल

काठमाडौं/ रत्न काजि प्रजापति ।
रसुवा, नुवाकोटलगायतका जिल्लामा भोटेकोशी (त्रिशूली) नदीमा आएको बाढीका कारण मानवसँगै पशुपन्छी तथा जनधनमा ठूलो क्षति पुगेकोप्रति कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा.लि.ले दुःख व्यक्त गर्दै बाढी प्रभावित पशुधनको स्वास्थ्य संरक्षणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कम्पनीले आज एक सूचनामार्फत बाढीका कारण प्रभावित क्षेत्रमा पशुपन्छीमा उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सम्बन्धित सरकारी तथा स्थानीय निकायसँग समन्वय गरी आवश्यक प्राथमिक उपचारका औषधिहरू निःशुल्क उपलब्ध गराउने जनाएको हो।
कान्तिपुर भेट डिस्ट्रिब्युटर्सका अनुसार बाढी प्रभावित पशुपन्छीको उपचारका लागि आवश्यक औषधि सम्बन्धित जिल्ला पशु सेवा कार्यालय, नगरपालिका/गाउँपालिका, पशुसेवा शाखा तथा पशु स्वास्थ्यसम्बन्धी सरकारी निकायको समन्वय र सिफारिसमा वितरण गरिनेछ।
कम्पनीले उपलब्ध गराउने औषधिहरू वास्तविक रूपमा बाढी प्रभावित पशुपन्छीको उपचारमा प्रयोग हुने गरी सम्बन्धित सरकारी पशुसेवा निकाय तथा आधिकारिक संघसंस्थाको समन्वय र सिफारिसमा वितरण गर्ने स्पष्ट पारेको छ।
बाढीपछि पशुपन्छीमा चोटपटक, संक्रमण, पानी तथा दानाको अभाव, अस्वच्छ वातावरण र अन्य स्वास्थ्य समस्या देखिन सक्ने भएकाले समयमै उपचार र स्वास्थ्य निगरानी आवश्यक हुन्छ। यस्तो अवस्थामा पशु चिकित्सक तथा प्राविधिकको सल्लाहबिना औषधि प्रयोग गर्दा समस्या थप जटिल बन्न सक्ने भएकाले सम्बन्धित निकायमार्फत औषधि तथा उपचार सेवा सञ्चालन गर्नु महत्वपूर्ण मानिन्छ।
कम्पनीले आफ्नो पहललाई व्यावसायिकभन्दा पनि मानवीय तथा सामाजिक उत्तरदायित्वका रूपमा अघि बढाएको जनाएको छ। बाढी तथा प्राकृतिक विपद्को समयमा पशुधनको संरक्षण किसानको आर्थिक सुरक्षासँग समेत प्रत्यक्ष जोडिने भएकाले प्रभावित पशुपालकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु अत्यन्त महत्वपूर्ण हुन्छ।
कान्तिपुर भेट डिस्ट्रिब्युटर्सले यस मानवीय पहलमा सम्बन्धित सरकारी निकाय, पशु चिकित्सक, प्राविधिक, संघसंस्था तथा सरोकारवालाबाट आवश्यक समन्वय र सहयोगको अपेक्षा गरेको छ।
बाढीले प्रभावित क्षेत्रमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालन भइरहेका बेला मानव स्वास्थ्यसँगै पशु स्वास्थ्यलाई पनि विपद् व्यवस्थापनको महत्वपूर्ण पक्षका रूपमा प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ। पशुधन गुम्दा किसानको आम्दानी, खाद्य सुरक्षा र आगामी आर्थिक अवस्थामै असर पर्ने भएकाले तत्कालीन उपचारसँगै पशु स्वास्थ्यको दीर्घकालीन संरक्षणतर्फ समेत ध्यान दिनुपर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!