बाढीपीडितको उद्धार र राहतमा सहयोग गर्न ह्याचरी उद्योग संघको अपिल

काठमाडौँ/रत्न काजि प्रजापति ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति नेपाल ह्याचरी उद्योग संघले गहिरो दुःख व्यक्त गरेको छ।

एक प्रेस विज्ञप्ति जारी गर्दै संघले बाढी तथा पहिरोबाट ठूलो संख्यामा सर्वसाधारण नागरिक, सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएको, कतिपय व्यक्ति बेपत्ता तथा घाइते भएको र अर्बौँ रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेकोप्रति दुःख व्यक्त गरेको हो।

संघका अध्यक्ष राजेन्द्र लामिछानेद्वारा विपद्को यस घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

संघले बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार, पुनःस्थापना र राहतका लागि सरकारको प्रयास मात्रै पर्याप्त नहुने जनाएको छ। विपद्को सामना गर्न निजी क्षेत्र, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्था तथा नागरिक समाजले आ–आफ्नो क्षमता र स्रोतसाधनअनुसार सहयोग गर्नुपर्नेमा संघले जोड दिएको छ।

विपद्को समयमा उद्योग व्यवसायीहरूले मानवीय दायित्वलाई केन्द्रमा राखेर सरकारी निकायसँग समन्वय गरी आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न संघले आग्रह गरेको छ।

विशेषगरी प्रभावित नागरिकको उद्धार, पुनःस्थापना, राहत, आवास तथा खाद्यान्न व्यवस्थापनमा सक्दो सहयोग गर्न संघले सम्पूर्ण उद्योग व्यवसायीलाई हार्दिक अपिल गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!