काठमाडौँ/रत्न काजि प्रजापति ।
भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न क्षेत्रमा परेको जनधनको क्षतिप्रति सिटिजन फर्मास्युटिकल्स प्रा.लि.ले दुःख व्यक्त गर्दै बाढी तथा पहिरो प्रभावित पशुपन्छीका लागि निःशुल्क औषधि उपलब्ध गराउने भएको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गरेको छ। बाढी तथा पहिरोका कारण मानव जीवनसँगै पशुपन्छीमा समेत प्रत्यक्ष असर परेको अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका पशुपन्छीको प्राथमिक उपचारका लागि आवश्यक औषधिहरू निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार कठिन परिस्थितिमा प्रभावित पशुपन्छीको स्वास्थ्य संरक्षण तथा उपचारमा आवश्यक सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वसमेत भएको महसुस गर्दै यस्तो निर्णय गरिएको हो। सिटिजन फर्मास्युटिकल्सले आगामी दिनमा आवश्यकताअनुसार थप सहयोग तथा समन्वय गर्ने प्रतिबद्धता पनि जनाएको छ।
कम्पनीले प्राकृतिक विपदबाट प्रभावित सबैमा धैर्य, साहस र सुरक्षित भविष्यको कामना गर्दै दिवंगत आत्माप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।
सिटिजन फर्मास्युटिकल्स प्रा.लि. वर्दघाट–१०, नवलपरासीमा रहेको नेपालकै प्रमुख भेटेरिनरी औषधि उत्पादक कम्पनीहरु मध्ये एक हो।