विपद्को पीडामा लेयर्स कुखुरापालक संघको साथ, राहत कोषमा १० लाख

चितवन/ रत्न काजि प्रजापति ।

रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।अध्यक्ष विनोद पोखरेलका अनुसार सरकारले बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोगको आह्वान गरेपछि संघले आफ्नो तर्फबाट उक्त रकम सहयोग गरेको हो।

चीनको तिब्बततर्फबाट आएको बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएपछि रसुवासहित धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको प्रति संघले दुःख व्यक्त गरेको छ।

अध्यक्ष पोखरेलले विपदमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। उहाँले बाढीबाट प्रभावित परिवारको राहत र पुनःस्थापनामा सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनुभयो।

नेपाल लेयर्स कुखुरापालक संघले यसअघि पनि भूकम्पलगायत विभिन्न प्राकृतिक विपद्का समयमा सहयोग गर्दै आएको जनाउँदै अध्यक्ष पोखरेलले व्यवसायसँगै राष्ट्रिय विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्नु संघको दायित्व भएको बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!