काठमाडौं, १२ भदौ/ रत्न काजि प्रजापति ।
नेपाल दाना उद्योग संघले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा बाढी–पहिरोबाट भएको जनधन तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल राहत, पुनर्स्थापना र पुनर्निर्माणका काम अघि बढाउन सरकारसँग आग्रह गरेको छ।
संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बाढी–पहिरोका कारण सडक, पुल, विद्युत्, खानेपानीलगायत अत्यावश्यक पूर्वाधारमा ठूलो क्षति पुगेको र यसले प्रभावित क्षेत्रमा दैनिक उपभोग्य वस्तुका साथै पशुपन्छीका लागि आवश्यक दाना तथा अन्य अत्यावश्यक सामग्रीको नियमित आपूर्तिमा समेत समस्या सिर्जना भएको जनाएको हो। बाढी तथा पहिरोका कारण २४ वटा पक्की पुल र दुई वटा बेलीब्रिज पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक तथा पुलमा भएको क्षतिका कारण प्रभावित क्षेत्रमा मानवीय आवतजावतसँगै अत्यावश्यक वस्तुको ओसारपसारमा समेत गम्भीर कठिनाइ उत्पन्न भएको संघले जनाएको छ। आपूर्ति प्रणाली प्रभावित हुँदा प्रभावित क्षेत्रमा उत्पादन हुने मासु, अण्डा र दूधजस्ता छिटो नष्ट हुने वस्तुको निकासीमा समेत असर परेको संघको भनाइ छ। यसबाट किसान, उद्योगी तथा व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने अवस्था सिर्जना भएको संघले जनाएको छ।
बाढी–पहिरोका कारण घर, सडक, पुल, विद्युत् तथा खानेपानी संरचनामा ठूलो क्षति पुगेको उल्लेख गर्दै संघले कृषि, पशुपन्छी तथा उद्योग व्यवसाय क्षेत्रमा समेत अर्बौँ रुपैयाँ बराबरको आर्थिक क्षति भएको दाबी गरेको छ। संघले प्रभावित नागरिक, किसान, उद्योगी तथा व्यवसायीको दैनिक जीवन र आर्थिक गतिविधिलाई सामान्य अवस्थामा फर्काउन राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।
विशेषगरी अवरुद्ध सडक तथा पुलको तत्काल मर्मत तथा पुनर्निर्माण गरी मानवीय आवतजावत र अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन संघले आग्रह गरेको छ। साथै, प्रभावित उद्योग, व्यवसाय, किसान तथा पशुपन्छी क्षेत्रको पुनःस्थापनाका लागि आवश्यक सहजीकरण गर्नसमेत सरकार तथा सम्बन्धित निकायलाई अपिल गरेको छ। संघले विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा पुनर्स्थापनाका कार्यमा आर्थिक सहयोग गर्न आफ्ना सम्पूर्ण सदस्य उद्योग तथा सरोकारवालालाई समेत आह्वान गरेको छ।
संघले बाढी–पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नेपाल दाना उद्योग संघका अध्यक्ष उमेश चन्द्र सापकोटाद्वारा जारी विज्ञप्तिमा विपत्तिको समयमा प्रभावित क्षेत्रको जनजीवनसँगै कृषि तथा पशुपन्छी उत्पादन प्रणालीलाई समेत जोगाउन आपूर्ति तथा पूर्वाधार पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।