काठमाडौं, १२ भाद्र २०८३।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पशुपन्छीको उद्धार तथा उपचारका लागि टिलिचो ट्रेडिङ प्रालि (भेटेरिनरी डिभिजन)ले २०० भाइल औषधि सहयोग गर्ने भएको छ।
कम्पनीले बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा घाइते भएका पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित विसर्जन तथा जैविक सुरक्षा व्यवस्थापनका लागि सहयोगस्वरूप औषधि उपलब्ध गराउने जनाएको हो।
कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र थापा मगरले औषधि नेपाल पशुपक्षी औषधि व्यवसायी संघमार्फत नेपाल सरकारको पशु सेवा विभागलाई उपलब्ध गराइने जानकारी दिएका छन्।
टिलिचोले Industrial Veterinaria S.A. (LIVISTO Spain) द्वारा उत्पादित Oxitetraciclina 200 LA (Injection Oxytetracycline 20% LA) को २०० भाइल बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उपचारका लागि उपलब्ध गराइनेछ।
भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा पशुपन्छीसमेत प्रभावित भएका छन्। प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उपचार, उद्धार, मृत पशुपन्छीको व्यवस्थापन र रोग फैलिन नदिन जैविक सुरक्षा कायम गर्न सम्बन्धित निकाय तथा पशु चिकित्सकहरूले सक्रियता बढाएका छन्।
यसअघि नेपाल पशुपक्षी औषधि व्यवसायी संघले बाढी प्रभावित क्षेत्रमा पशुपन्छीको उद्धार तथा उपचारका लागि सहयोग गर्न अपिल गरेको थियो।
औषधि सहयोगबारे कम्पनीका प्रबन्ध निर्देशक मगरले ‘सेवा नै धर्म हो’ भन्ने भावनासहित विपद्का समयमा पशुपन्छीको उपचार तथा संरक्षणका लागि सहयोग गर्न पाउनु सामाजिक दायित्व भएको बताएका छन्।
