दाउन्ने समुहको नाफा १२ प्रतिशतले बढ्योः रसुवा बाढीपीडितलाई रु. ५ लाख सहयोग

चितवन, १३ भदौ २०८३/रत्न काजि प्रजापति ।

आधुनिक प्रविधिमा आधारित व्यावसायिक कुखुरापालन तथा कृषि क्षेत्रमा सक्रिय दाउन्ने एग्रो फार्म लिमिटेड समूहले गत आर्थिक वर्ष २०८२/८३ मा रु. १२ करोड ८९ लाख करपूर्व मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा रु. ११ करोड ८५ लाख करपूर्व मुनाफा गरेको समूहको नाफा यस वर्ष ८.७७ प्रतिशतले वृद्धि भएको हो ।

चितवनमा शुक्रबार सम्पन्न कम्पनीको नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन पारित गरेको छ । समूहको करपछिको खुद मुनाफा पनि बढेर रु. १० करोड २१ लाख पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा रु. ९ करोड ८ लाख थियो, जुन करिब १२.४२ प्रतिशतको वृद्धि हो ।

दाउन्ने एग्रो फार्म लिमिटेडको मात्रै खुद मुनाफा रु. ९ करोड २९ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद मुनाफा रु. ८ करोड १५ लाख थियो । यस वर्ष समूहको प्रति शेयर आम्दानी रु. २०.१४ र दाउन्ने एग्रो फार्मको मात्रै रु. १८.३७ कायम भएको छ ।

झण्डै ५ लाख कुखुरा, ९ करोडभन्दा बढी अण्डा बिक्री

दाउन्ने एग्रो फार्म आधुनिक प्रविधिको प्रयोग गर्दै ठूलो क्षमतामा लेयर्स कुखुरापालन गर्ने नेपाली कृषि तथा पशुपन्छी क्षेत्रको एक प्रमुख व्यावसायिक फार्मका रूपमा विस्तार भइरहेको छ ।

आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म फार्ममा ३ लाख ९३ हजार १४१ लेयर्स कुखुरा र १ लाख १ हजार ३१८ चल्ला गरी कुल ४ लाख ९४ हजार ४५९ कुखुरा रहेका थिए । सो अवधिमा कम्पनीले ९ करोड २४ लाख ४९ हजार १४० वटा अण्डा बिक्री गरेको छ ।

कम्पनीले अण्डाको उत्पादनसँगै सुरक्षित भण्डारण र व्यवस्थापनलाई समेत प्राथमिकता दिँदै आएको छ । आगामी दिनमा उत्पादन क्षमता थप विस्तार गर्ने योजनासहित फार्मले आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन प्रणालीलाई निरन्तरता दिइरहेको जनाएको छ ।

दाउन्ने समूहअन्तर्गत दाउन्ने एग्रो फार्म लिमिटेड, दाउन्ने ट्रे एण्ड प्याकेजिङ इन्डस्ट्रिज प्रा.लि., किसान एग्रो इन्डस्ट्रिज प्रा.लि. तथा दाउन्ने मल्ट्री एग्रो एण्ड रिसर्च प्रा.लि. रहेका छन् ।

समूहको सञ्चालन आम्दानी रु. १ अर्ब ४० करोड १२ लाख पुगेको छ भने दाउन्ने एग्रो फार्मको मात्रै सञ्चालन आम्दानी रु. १ अर्ब ३६ करोड ७९ लाख रहेको छ । कम्पनीको चुक्ता पुँजी आर्थिक वर्षको अन्त्यसम्म रु. ५२ करोड पुगेको छ ।

रसुवा बाढीपीडितलाई रु ५ लाख सहयोग

व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै दाउन्ने एग्रो फार्म लिमिटेडले रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि रु. ५ लाख सहयोग गरेको छ ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु. ५ लाखको चेक प्रदान गरेको हो । विपद्को कठिन अवस्थामा पीडित परिवारको राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको कम्पनी अध्यक्ष बिनोद पोखरेलले जानकारी दिए।

आधुनिक प्रविधिमा आधारित ठूलो क्षमताको लेयर्स फार्म सञ्चालन गर्दै आएको दाउन्ने एग्रोले व्यवसायिक गतिविधिसँगै विपद् तथा सामाजिक क्षेत्रमा समेत आफ्नो भूमिका देखाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!