काठमाडौं, १४ भदौ २०८३/ रत्न काजि प्रजापति ।
रसुवा लगायत देशका विभिन्न क्षेत्रमा हालै आएको बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि रुङ्गटा ग्रुपले दुई करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।
रुङ्गटा ग्रुप अन्तर्गतका विभिन्न कम्पनीको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। विपद्को कठिन समयमा प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले ग्रुपले उक्त रकम प्रदान गरेको जनाएको छ।
ग्रुपका अनुसार ओ.सी.बी. फुड्स एन्ड फिड्स प्रालि., ओम चाओ बिरो फिड इन्डस्ट्रिज प्रालि., ओम चाओ बिरो पेलेट फिड इन्डस्ट्रिज प्रालि., ओम एग्रो प्रोडक्ट्स प्रालि. र पोषक ब्रीडर फार्म प्रालि.को सहभागितामा सहयोग रकम उपलब्ध गराइएको हो।
सन् १९६८ मा मुरलीधर रुङ्गटाको नेतृत्वमा स्थापना भएको रुङ्गटा ग्रुप नेपालको प्रतिष्ठित तथा अग्रणी व्यावसायिक समूहका रूपमा परिचित छ। कृषि व्यवसाय, खाद्य प्रशोधन, दाना उत्पादनलगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको समूहले नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ।
समूहले ‘पोषक पेलेट दाना’ ब्रान्डमार्फत कुखुरा तथा पशुपन्छीका लागि दाना उत्पादन गर्दै आएको छ। साथै, पोषक ब्रीडर फार्ममार्फत ह्याचरी तथा ब्रिडिङ व्यवसायमा समेत संलग्न रहेको छ।
त्यसैगरी, समूहअन्तर्गतको ओ.सी.बी. फुड्स एन्ड फिड्स प्रालि.ले सोयाबिन, सूर्यमुखी तथा पामोलिन तेल प्रशोधन गरी ‘दिव्या’ ब्रान्डको खाने तेल उत्पादन गर्दै आएको छ। ओम एग्रो प्रोडक्ट्स प्रालि. मार्फत ‘पर्ल प्रिमियम राइस’ लगायत चामल, दाल तथा पीठोजस्ता खाद्य वस्तुको उत्पादन तथा प्रशोधन हुँदै आएको छ।
कृषि, खाद्य तथा पशुपन्छी व्यवसायमा लामो समयदेखि सक्रिय रुङ्गटा ग्रुपले विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै ठूलो रकम सहयोग गरेको हो।
ग्रुपले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउन तथा विपद्को घडीमा राज्यसँग हातेमालो गर्न उक्त योगदान गरेको जनाएको छ। दुई करोड एक लाख रुपैयाँको सहयोगले प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।