बाढीपीडितका लागि एसियन फिड्सको ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काठमाडौं, १४ भदौ २०८३/ रत्न काजि प्रजापति ।

रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि एसियन फिड्स प्रालिले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

एसियन फिड्सले आइतबार एक विज्ञप्ति जारी गर्दै बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवारले घर, जीविकोपार्जन र सुरक्षाको अनुभूति गुमाउनु परेकोप्रति गहिरो दुःख व्यक्त गरेको छ। कम्पनीले विपद्को कठिन समयमा प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै सहयोग रकम प्रदान गरेको जनाएको हो। “सहयोगको रकम विपद्को क्षतिको तुलनामा ठूलो नहुन सक्छ, तर कठिन परिस्थितिमा हरेक योगदानले अर्थपूर्ण सहयोग पुर्‍याउन सक्छ,” कम्पनीले विज्ञप्तिमा भनेको छ।

एसियन फिड्सले राहत तथा पुनःस्थापनाका लागि सरकारबाट भइरहेका प्रयासमा सहयोग गर्न फिड उद्योग तथा व्यवसाय क्षेत्रका अन्य कम्पनीलाई समेत अघि आउन आग्रह गरेको छ। कम्पनीले आर्थिक योगदान मात्र नभई विपद्का समयमा उद्योग–व्यवसाय क्षेत्रले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित समुदायको साथमा उभिनुपर्नेमा जोड दिएको छ।

एसियन फिड्स प्रालि आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो। काठमाडौंको नयाँ बानेश्वरमा कम्पनीको दर्ता कार्यालय तथा मोरङको बुढीगंगामा उद्योग रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!