इटहरी। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सुनगाभा फिड प्रा.लि ले रु. १ लाख १ हजार आर्थिक सहयोग गरेको छ । बाढीबाट ठूलो जनधनको क्षति भएको दुःखद् अवस्थामा पीडित परिवारको साथमा उभिँदै राहत तथा पुनःनिर्माण अभियानमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले रसुवा–भोटेकोशीका बाढीपीडितप्रति दुःख व्यक्त गर्दै विपद्को कठिन घडीमा सबै एकजुट भएर प्रभावित परिवारलाई सहयोग गर्नुपर्नेमा जोड दिएको छ । “हाम्रो सानो सहयोग, ठूलो साथ” भन्ने सन्देशसहित कम्पनीले पीडित जनताको राहत, पुनःनिर्माण र आशाको यात्रामा हातेमालो गर्न सबैलाई आह्वान गरेको छ ।
सुनगाभा फिड प्रा.लि. सुनसरीको इटहरीमा आधारित पशुपन्छी दाना उद्योग हो । कम्पनीले पशुपन्छीका लागि आवश्यक दाना उत्पादन गर्दै आएको छ । व्यवसायसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का समयमा सहयोग गर्ने प्रतिबद्धतासमेत कम्पनीले जनाएको छ ।
रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःनिर्माणका लागि विभिन्न व्यक्ति, व्यवसायिक प्रतिष्ठान तथा संघसंस्थाले प्रधानमन्त्री विपद् राहत कोषमार्फत सहयोग गरिरहेका छन् ।
सुनगाभा फिडले पनि सोही अभियानमा सहभागी हुँदै पीडित परिवारलाई सहयोग पुर्याउने प्रयास गरेको हो । कम्पनीले प्रभावित सबै दाजुभाइ तथा दिदीबहिनीप्रति समवेदना व्यक्त गर्दै सुरक्षित र सजग रहन तथा एक–अर्कालाई सहयोग गर्न आग्रह गरेको छ ।