काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ र नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघले बाढीपहिरोबाट प्रभावित व्यवसायी तथा पीडित परिवारको राहत, आर्थिक सहयोग र पुनर्स्थापनाका विषयमा संयुक्त बैठक गर्ने भएका छन्।
भोलि बस्ने संयुक्त बैठकमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष रितेश रिमाल, महासचिव सादुरान ढकालसहित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू र संघका पूर्वकेन्द्रीय अध्यक्षहरूको सहभागिता रहनेछ। त्यसैगरी नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघका अध्यक्ष रेवति रमण निरौला र महासचिव नरेश कर्माचार्यलगायतको सहभागिता रहनेछ।
बैठकमा हालै आएको बाढीपहिरोका कारण प्रभावित व्यवसायी तथा परिवारको अवस्थाबारे छलफल गर्दै पीडित व्यवसायीलाई आर्थिक सहयोग उपलब्ध गराउने, राहतमा सहजीकरण गर्ने तथा प्रभावित व्यवसायलाई पुनःस्थापना गर्न आवश्यक सहयोगका विषयमा ठोस निर्णय गर्ने तयारी गरिएको छ।
संघहरूले विपद्का कारण व्यवसाय, पशुपन्छी औषधिको कारोबार तथा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेका व्यवसायीको पहिचान गरी आवश्यकताका आधारमा सहयोग गर्ने विषयलाई प्राथमिकतामा राखेका छन्। मानवीय संकटका बेला व्यवसायीहरूलाई एक्लो महसुस हुन नदिने र संस्थागत रूपमा सहयोगको हात बढाउने उद्देश्यले संयुक्त पहल गर्न लागिएको संघका पदाधिकारीहरूले बताएका छन्।
महानिर्देशक भट्टराईलाई स्वागत तथा व्यवसायीका समस्या अवगत गराइने
संयुक्त बैठकपछि औषधि व्यवस्था विभागका नवनियुक्त महानिर्देशक भरत भट्टराईलाई स्वागत तथा बधाई दिने कार्यक्रमसमेत तय गरिएको छ।
सो अवसरमा पशुपन्छी औषधि व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएका विभिन्न समस्याबारे महानिर्देशक भट्टराईलाई जानकारी गराउने तयारी गरिएको छ। विशेषगरी औषधि पसल खारेजी, व्यवसायी तालिम, तालिम प्राप्त व्यवसायीलाई व्यवसाय सञ्चालनमा देखिएका समस्या तथा नियामकीय प्रक्रियाका अन्य व्यावहारिक कठिनाइका विषयमा छलफल हुने बताइएको छ।
कार्यक्रममा नेपाल आयुर्वेदिक औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष रामचन्द्र बुढाथोकीको समेत सहभागिता रहनेछ। तीनवटै व्यवसायी क्षेत्रका प्रतिनिधिबीच व्यवसायीका साझा समस्या र नियमनलाई थप व्यवस्थित बनाउने विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।
पीडित व्यवसायीलाई प्रत्यक्ष भेटेर सहयोग गर्ने
संयुक्त बैठककै क्रममा बाढीपहिरोबाट प्रभावित केही व्यवसायीलाई भोलि प्रत्यक्ष भेट गरी आर्थिक सहयोग उपलब्ध गराउने कार्यक्रमसमेत रहेको छ।
संघका प्रतिनिधिहरूले पीडित व्यवसायीको वास्तविक अवस्था बुझ्दै तत्काल आवश्यक सहयोग उपलब्ध गराउने र आगामी दिनमा पुनर्स्थापनाका लागि थप सहयोगको पहल गर्ने तयारी गरेका छन्।
पशुपन्छी औषधि व्यवसायी तथा पैठारीकर्ताका संस्थाहरूले विपद्को समयमा व्यवसायिक हितसँगै मानवीय दायित्वलाई समेत प्राथमिकतामा राखेर सहकार्य र एकताको सन्देश दिने उद्देश्यले संयुक्त पहल अघि बढाएका हुन्।