काठमाडौं , १८ भाद्र २०८३/ ईश्वर थापा।
औषधि व्यवस्था विभागमा पुन महानिर्देशकको जिम्मेबारीमा आउनु भएका महानिर्देशक भरत भट्टराईलाई नेपाल पशुपन्छी औषधि व्यवसायी संघ र नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघले स्वागत तथा बधाई दिएका छन्।
संयुक्त रूपमा आयोजित स्वागत कार्यक्रममा नेपाल पशुपन्छी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष रितेश रिमाल, उपाध्यक्ष सुना सुबेदी बडाल, महासचिव सादुराम ढकाल, पुर्न अध्यक्ष कम्पोज बडाल तथा नेपाल पशुपन्छी औषधि पैठारीकर्ता संघका उपाध्यक्ष कृष्ण लम्साल, महासचिव नरेश कर्माचार्यलगायत दुवै संघका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
सो अवसरमा पशुपन्छी औषधि व्यवसायीहरूले लामो समयदेखि भोग्दै आएका विभिन्न समस्या महानिर्देशक भट्टराईसमक्ष राखेका थिए। विशेषगरी औषधि पसल खारेजी, व्यवसायी तालिम, तालिम प्राप्त व्यवसायीलाई व्यवसाय सञ्चालनमा देखिएका समस्या तथा विभागीय नियमन र प्रक्रियाका कारण उत्पन्न व्यावहारिक कठिनाइबारे ध्यानाकर्षण गराइएको थियो।
व्यवसायीहरूले पशुपन्छी औषधि व्यवसायलाई व्यवस्थित, पारदर्शी र सहज बनाउन विभाग र व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएका थिए। साथै, व्यवसायीका समस्या समाधान गर्दा व्यवहारिक पक्षलाई समेत ध्यान दिन आग्रह गरिएको थियो।
जवाफमा महानिर्देशक भरत भट्टराईले व्यवसायीका समस्या समाधानका लागि आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। उनले विभागका कामकारबाहीलाई सुशासन, पारदर्शिता र प्रभावकारितालाई केन्द्रमा राखेर अघि बढाउने बताए।
भट्टराईले विभाग र व्यवसायीबीच सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउँदै विद्यमान समस्याको समाधान खोजिने समेत बताएका थिए।