काठमाडौं, भदौ १८ गते । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति र सरकारको उद्धार प्रयासबारे काठमाडौंस्थित कूटनीतिक समुदायलाई जानकारी गराउनुभएको छ।
परराष्ट्र मन्त्रालयमा आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसहित विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघका प्रतिनिधिको सहभागिता थियो।
मन्त्री खनालले भदौ १० गते नेपाल–चीन सीमास्थित रसुवागढीमा आएको बाढीले केही मिनेटमै पानी, माटो र गेग्रान बगाएर तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको जानकारी दिनुभयो। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा जनजीवन तथा भौतिक पूर्वाधारमा गम्भीर असर परेको उहाँले बताउनुभयो।
बाढीको भयावहता स्मरण गर्दै मन्त्री खनालले यसलाई **‘हिमालयन सुनामी’**को संज्ञा दिनुभयो। उहाँका अनुसार बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुगेको थियो।
सरकारको प्राथमिकता प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र विदेशी नागरिकको सुरक्षा रहेको बताउँदै मन्त्री खनालले विपद्को कारणबारे प्राविधिक विज्ञको सहयोगमा अध्ययन भइरहेको जानकारी दिनुभयो।
उहाँले विपद्को कठिन समयमा छिमेकी, मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोग र ऐक्यबद्धताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य जारी राख्ने बताउनुभयो।