चितवन, भदौ १८ गते । विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन नेपाल ह्याचरी उद्योग संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सरकारले राहत तथा उद्धारका लागि सहयोगको आह्वान गरेको थियो। सोही आह्वानअनुसार संघले आफ्नोतर्फबाट सहयोग रकम उपलब्ध गराएको हो।
संघका अध्यक्ष राजेन्द्र लामिछानेले विपद्को पीडामा परेका नागरिकको उद्धार, उपचार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संघले सहयोग गरेको बताउनुभयो। उहाँले प्राकृतिक विपत्तिले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो।
“राष्ट्र संकटमा परेको बेला व्यवसायिक क्षेत्रले आफ्नो सामाजिक जिम्मेवारी निर्वाह गर्नुपर्छ। ठूलो सहयोग गर्न नसके पनि विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु हाम्रो दायित्व हो,” अध्यक्ष लामिछानेले भन्नुभयो।
संघका अनुसार नेपालमा यसअघि आएका भूकम्पलगायत विभिन्न प्राकृतिक विपत्तिमा पनि संघले राहत तथा सहयोगका कार्यक्रममार्फत आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै आएको छ।
बाढीले पोल्ट्री क्षेत्र पनि प्रभावित
बाढीपहिरोबाट सर्वसाधारणसँगै पोल्ट्री व्यवसायमा समेत ठूलो क्षति पुगेको संघले जनाएको छ। संघका उपाध्यक्ष ज्ञानबहादुर बिसुरालका अनुसार बाढीका कारण ठूलो संख्यामा मानिसको ज्यान गएको, हजारौँ परिवार विस्थापित भएको तथा धेरै नागरिक सम्पर्कविहीन रहेको अवस्था छ।
बाढीले पोल्ट्री फार्म, कुखुरा, दाना तथा अन्य पूर्वाधारमा समेत क्षति पुर्याउँदा व्यवसायीले करोडौँ रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्नुपरेको उहाँले बताउनुभयो।
बिसुरालले बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार, विस्थापित परिवारको आवास तथा खानपानको व्यवस्था र क्षतिग्रस्त व्यवसायको पुनःस्थापनामा राज्यको प्रमुख भूमिका रहने बताउनुभयो। संकटको समयमा स्वदेश तथा विदेशबाट सहयोग जुटिरहेको अवस्थामा निजी क्षेत्रले पनि आफ्नो क्षमता र सामर्थ्यअनुसार योगदान गर्नुपर्ने उहाँको भनाइ छ।
“मानवीय संकटका बेला सहयोग रकमको आकारभन्दा पनि पीडितको दुःखमा साथ दिने भावना महत्वपूर्ण हुन्छ,” बिसुरालले भन्नुभयो।
नेपाल ह्याचरी उद्योग संघले गरेको यो सहयोगले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। संघले विपद्को यस कठिन घडीमा पीडित परिवार, व्यवसायी तथा समग्र प्रभावित समुदायप्रति ऐक्यबद्धता समेत जनाएको छ।