काठमाडौं, १८ भाद्र २०८३/ रत्न काजि प्रजापति
प्राकृतिक विपत्तिले घरबार, परिवार र व्यवसाय गुमाएका नागरिकको पीडामा नेपाल दाना उद्योग संघ र संघमा आबद्ध दाना उद्योगहरूले राहतको हात बढाएका छन्।
रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संघले आफ्ना सदस्य उद्योगहरूबाट संकलित ३ करोड १७ लाख ८४ हजार ७ सय १ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। संघमा आबद्ध २६ वटा दाना उद्योगले स्वेच्छिक रूपमा सो सहयोग रकम उपलब्ध गराएका हुन्। उद्योगहरूले आफ्नो क्षमताअनुसार फरक–फरक रकम प्रदान गरेका छन्। यसमा ठूला उद्योगदेखि तुलनात्मक रूपमा साना उद्योग सम्मले समेत विपद्को पीडामा आफ्नो तर्फबाट योगदान गरेका छन्।

संघले भदौ १० गते रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी–पहिरोका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित परिवारको राहत र पुनःस्थापनामा सहयोग गर्न सदस्य उद्योगहरूलाई आह्वान गरेको थियो।
नेपाल दाना उद्योग संघका अध्यक्ष उमेशचन्द्र सापकोटाका अनुसार विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु निजी क्षेत्रको पनि सामाजिक दायित्व हो। व्यवसाय सञ्चालनसँगै समाज र राष्ट्रमाथि आइपरेको संकटमा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नु उद्योग क्षेत्रको जिम्मेवारी भएको उहाँको भनाइ छ। “विपद्को समयमा सहयोगको रकमभन्दा पनि पीडितको दुःखमा साथ दिने भावना ठूलो कुरा हो। दाना उद्योगहरूले आफ्नो व्यवसायिक जिम्मेवारीसँगै मानवीय दायित्वलाई पनि आत्मसात् गरेका छन्,” अध्यक्ष सापकोटाले बताउनुभयो।
बाढीबाट प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार, विस्थापित परिवारको आवास तथा खानपान र क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि राज्य तथा विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला दाना उद्योगहरूको यो योगदानले विपद् मा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय एकताको सन्देश दिएको छ।
नेपाल दाना उद्योग संघले आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार विपद् प्रभावित नागरिक तथा व्यवसायीको सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।