रौतहट, १९ भाद्र २०८३ । भारतबाट हुने अवैध कुखुरा, चल्ला तथा मासुको तस्करी नियन्त्रण गर्न र स्थानीय बजारमा कुखुराको मूल्यमा भइरहेको अनियमितता अन्त्य गर्न माग गर्दै जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटले आमरण अनशन बस्ने घोषणा गरेको छ।
संघले आज शुक्रबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय रौतहटको गेट अगाडि आमरण अनशन बस्ने घोषणा गरेको हो। संघले किसान तथा उपभोक्ताको अधिकार संरक्षणका लागि पटक–पटक स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी कार्यालयमा लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराए पनि समस्या समाधान नभएको जनाएको छ।
खुला सीमाको फाइदा उठाउँदै भारतबाट दैनिक रूपमा कुखुरा, चल्ला तथा मासु अवैध रूपमा भित्रिँदा नेपाली किसानको लगानी जोखिममा परेको छ। त्यस्तै, स्थानीय बजारमा बिचौलियाको मनोमानीका कारण कुखुराको मूल्यमा चरम असमानता र कालोबजारी भइरहेको संघको आरोप छ।
संघले शान्तिपूर्ण आन्दोलन र आमरण अनशनका क्रममा हुन सक्ने कुनै पनि अप्रिय घटनाको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने चेतावनीसमेत दिएको छ।
कुखुरा किसानको लगानी संरक्षण, बजारमा निष्पक्ष प्रतिस्पर्धा र उपभोक्तालाई उचित मूल्यमा मासु उपलब्ध गराउन सरकार गम्भीर बन्नुपर्ने माग संघले गरेको छ।
भारतबाट हुने कुखुरा तथा चल्लाको अवैध तस्करी नियन्त्रण, किसानले उत्पादनको उचित मूल्य पाउनुपर्ने र बजारमा बिचौलियाको प्रभाव अन्त्य गर्नुपर्ने माग पछिल्लो समय देशभरका पोल्ट्री किसानले पनि उठाउँदै आएका छन्।