काठमाडौं । भोटेकोशी–त्रिशूलीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित औषधि व्यवसायीहरूको व्यवसाय पुनर्स्थापनाका लागि नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाको पहलमा आर्थिक सहयोग संकलन गरी ‘बिउ रकम’ हस्तान्तरण गरिएको छ।
संघको काठमाडौं जिल्ला शाखाको समन्वय तथा नुवाकोट जिल्ला शाखाको सहकार्यमा विदुर नगरपालिकाका वडा अध्यक्ष निलमबाबु ढुंगेलमार्फत पहिलो चरणमा ६ जना प्रभावित व्यवसायीलाई प्रतिव्यक्ति ५५ हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको हो।
अभियानमार्फत कुल ४ लाख ७१ हजार ८ सय ९७ रुपैयाँ संकलन भएको थियो। संकलित रकमबाट प्रभावित व्यवसायीलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको जनाइएको छ।
विपत्तिले व्यवसायमा क्षति पुर्याए पनि व्यवसायीबीचको एकता र मानवीय भावना कमजोर हुन नसक्ने भन्दै संघको यो सहयोगलाई पुनः व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोगसँगै हौसला र आत्मबलको प्रतीक भएको जनाएको छ।
नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठ ‘सुमन’ले भने, “हामी एक छौँ, हामी साथमा छौँ। त्यसैले हरेक विपत्तिपछि फेरि उठ्नेछौँ, अवश्य उठ्नेछौँ।”बाढी प्रभावित व्यवसायीको पुनर्स्थापनाका लागि आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने संघले जनाएको छ।