काठमाडौं, १९ भाद्र २०८३/रत्न काजि प्रजापति ।
रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित आफ्ना सदस्य व्यवसायीहरूलाई नेपाल पशुपन्छी औषधि व्यवसायी संघले राहत तथा सहयोग प्रदान गरेको छ।
संघका केन्द्रीय अध्यक्ष रितेश रिमाल सहित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सहभागितामा बाढीबाट प्रभावित व्यवसायीहरूको क्षतिको अवस्था बुझ्दै राहत सहयोग प्रदान गरिएको हो।
बाढीका कारण संघका सदस्य प्रदीप भेट सेन्टरका पुरुषोत्तम पौडेलको परिवारसँग सम्पर्क विहिन हुनुका साथै पशुपन्छी औषधि पसल तथा घरसमेत क्षति पुगेको छ। पौडेललाई हाललाई नगद रु १ लाख ५० हजार सहयोग गरिएको छ ।
त्यस्तै किसान एग्रोभेटका कृष्ण कोइरालाको घर डुबानमा परी पशुपन्छी औषधिसहित घरका सम्पूर्ण सामग्री नष्ट भएको संघले जनाएको छ। यसैगरी कृषक भेट (मिठु प्याकुरेल) र त्रिवेणी भेट (हरि प्रसाद दाहाल)को पशुपन्छी औषधि पसलमा रहेका सम्पूर्ण सामग्री बाढीले बगाएको छ। उहाहरु लाई जनहि नगद रु ५० हजारका दरले प्रारम्भिक सहयोग गरिएको छ ।
संकटको समयमा आफ्ना सदस्य व्यवसायीहरूको साथमा उभिँदै संघले व्यवसायीको क्षतिमा राहत मात्र नभई मानवीय संवेदना र एकताको सन्देशसमेत दिएको जनाएको छ। संघका केन्द्रिय अध्यक्ष रितेश रिमालले विपद् बाट प्रभावित व्यवसायीहरूको पुनःस्थापना तथा व्यवसाय पुनः सञ्चालनका लागि आगामी दिनमा समेत आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।