ब्राण्डेड चामलको बोरामा कमसल चामल प्याकिङ गरी बिक्री गर्ने व्यक्ति पक्राउ

काठमाडौं। काठमाडौंको कुलेश्वरमा ब्राण्डेड चामलको बोरामा कमसल चामल प्याकिङ गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित न्यु प्रकाश खाद्य उद्योगमा कमसल चामललाई ‘भान्सा घर (Long Grain Premium Special Rice)’ ब्राण्डको बोरामा प्याकिङ गरी बिक्री भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा २० किलोका तीन बोरा कमसल चामल फेला परेको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा उक्त चामल बाफल स्थित केशरी नन्दन खाद्य स्टोर तथा श्री गढीमाई प्याकेजिङ उद्योगबाट खरिद–बिक्री गरिएको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

प्रहरीले श्री गढीमाई प्याकेजिङ उद्योगको गोदाममा खानतलासी गर्दा ‘Long Grain Premium Special Rice’ लेखिएको भान्सा घर ब्राण्डका २७ बोरा चामल, १० थान खाली बोरा र ‘जय श्री फुड्स’ लेखिएको चामलको बोरा सिल गर्न प्रयोग हुने १० थान प्लास्टिक स्टिकर बरामद गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा मोरङ विराटनगर महानगरपालिका–१० तीनटोलियाका ४८ वर्षीय मुकेश कुमार भन्ने मुकेश सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका सिंहविरुद्ध कालोबजार तथा केही अन्य सामाजिक अपराधसम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौबाट म्याद थप गरी प्रहरी वृत्त कालिमाटीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार ब्राण्डेड चामलको नाममा कमसल खाद्य वस्तु बिक्री वितरण गरी उपभोक्तालाई ठगी गर्ने गतिविधिमाथि प्रहरीले निगरानी तथा अनुसन्धानलाई निरन्तरता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!